काठमाडौँ । गगन थापा ले नेपाललाई आगामी पाँच वर्षभित्र ‘डिजिटल हब’ का रूपमा विकास गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले सूचना प्रविधि (आईटी) क्षेत्रमा थोरै नीतिगत सुधारले पनि ठूलो आर्थिक परिवर्तन सम्भव रहेको विश्वास व्यक्त गरे।
केही समयअघि कीर्तिपुरमा आयोजित एक सभामा ‘ल्यापटप चलाएरै मासिक ३–४ लाख रुपैयाँ कमाउन सकिन्छ’ भन्ने अभिव्यक्ति ट्रोलको विषय बने पनि त्यो हावादारी नभई योजनाबद्ध सोचको अंश भएको उनले स्पष्ट पारे। अघिल्लो सरकारको पालामा अध्यादेशमार्फत गरिएका साना सुधारले सकारात्मक नतिजा दिएको उल्लेख गर्दै उनले अब थप व्यवस्थित र दीर्घकालीन नीति सुधार आवश्यक रहेको औंल्याए।
थापाले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आईटी दशक’ का रूपमा अघि बढाउने प्रस्ताव राख्दै पाँच वर्षभित्र करिब ४ खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात गर्न सकिने दाबी गरे। उनका अनुसार उक्त अवधिमा २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कम्तीमा २०० नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने र ३ देखि ५ वटा कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गर्ने लक्ष्य राखिएको छ।
योजना कार्यान्वयनका लागि स्थिर कर नीति, दक्ष जनशक्ति उत्पादन गर्न ‘ट्यालेन्ट हब’ स्थापना तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडललाई प्राथमिकतामा राखिएको उनले बताए। नेपाल अब फ्रिल्यान्सिङ र बीपीओमा मात्र सीमित नभई आफ्नै डिजिटल उत्पादन विकास र निर्यातमा केन्द्रित हुनुपर्ने उनको धारणा छ। साथै, सरकारले स्वदेशी प्रविधि र डिजिटल उत्पादनलाई प्राथमिकताका साथ प्रयोग गर्नुपर्नेमा उनले जोड दिएका छन्।



















Discussion about this post