बेलडाँडी । नयाँ राजनीतिक विकल्पको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमबाटै आफ्नो चुनावी अभियानको औपचारिक थालनी गर्दै धनगढीलाई साक्षी बनाएको छ। ‘परिवर्तन उद्घोष सभा’ नाम दिइएको पहिलो चुनावी कार्यक्रम आज धनगढी मा भव्य रूपमा सम्पन्न भइरहेको छ, जहाँ जनसागर उर्लिएको दृश्यले सुदूरपश्चिमको राजनीतिक तापक्रम ह्वात्तै बढाएको छ।
सुदूरपश्चिम प्रदेशको राजधानीबाटै अभियान सुरु गर्नुले रास्वपाले सुदूरलाई प्राथमिकतामा राखेको सन्देश दिएको स्थानीयहरू बताउँछन्। “राज्यको ध्यान अब सुदूर होइन, सुन्दर बनाउनुपर्छ,” भन्ने नारासहित सुरु भएको सभाले परिवर्तनको स्पष्ट संकेत दिएको समर्थकहरूको दाबी छ।
कार्यक्रमलाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) कार्यक्रम स्थलमा पुगिसकेका छन्। दुवै नेताको उपस्थितिले समर्थकहरूमा थप उत्साह भरिएको देखिएको छ। सभास्थलमा बिहानैदेखि समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। विभिन्न जिल्लाबाट आएका युवापुस्ता, महिला तथा सर्वसाधारणको बाक्लो उपस्थितिले कार्यक्रम स्थल खचाखच भरिएको दृश्य देखिएको छ।
रास्वपाले सुदूरपश्चिमलाई पहिलो प्राथमिकता दिँदै अभियान सुरु गर्नुले यहाँका जनताको अपेक्षा र भावनालाई सम्मान गरेको सन्देश दिएको पार्टी नेताहरूको भनाइ छ। “सुदूरलाई साच्चिकै माया गर्ने पार्टी यही हो,” भन्दै समर्थकहरूले उत्साहपूर्वक नाराबाजी गरेका थिए।
राजनीतिक विश्लेषकहरूका अनुसार धनगढीबाट अभियान सुरु गर्नु रणनीतिक रूपमा अर्थपूर्ण कदम हो। लामो समयदेखि विकास र अवसरबाट पछि परेको सुदूरपश्चिमलाई केन्द्रमा राख्दै रास्वपाले ‘परिवर्तनको शंखनाद’ गरेको सन्देश दिन खोजेको देखिन्छ।
पहिलो सभामै देखिएको व्यापक सहभागिताले सुदूरपश्चिममा रास्वपाको प्रभाव र जनसमर्थनबारे स्पष्ट संकेत दिएको चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ। अब हेर्न बाँकी छ, धनगढीबाट उठेको यो लहर सुदूरपश्चिम हुँदै देशव्यापी कति बलियो रूपमा फैलिन्छ।




















Discussion about this post