धनगढी । प्रतिनिधि सभा निर्वाचन (फागुन २१) सम्पन्न भएको केही समयमै कैलाली जिल्ला क्षेत्र नम्बर ५ मा गम्भीर राजनीतिक आरोप सार्वजनिक भएपछि स्थानीय राजनीतिक वृत्त तरंगित बनेको छ। नेपाली काँग्रेस का उम्मेदवार नरनारायण शाहले आफ्नै पार्टीका ५७ जना नेता-कार्यकर्ताले प्रतिस्पर्धी उम्मेदवार प्रेमबहादुर आले बाट रकम लिएको दाबी गरेका छन्।
एक सञ्चारमाध्यमसँगको कुराकानीमा शाहले उक्त आरोपलाई थप गम्भीर बनाउँदै, नेकपा (एमाले) का उम्मेदवारसमेत रहेका आलेले आफूलाई नै भेटेर पैसा बुझ्नेहरूको नामावली उपलब्ध गराएको बताएका छन्। शाहका अनुसार, यस प्रकरणमा पार्टी नेतृत्व तहका केही प्रभावशाली व्यक्तिहरू समेत संलग्न हुन सक्ने संकेत देखिएको छ।
यद्यपि, उनले आरोप लगाइएका व्यक्तिहरूको नाम भने सार्वजनिक गर्न अस्वीकार गरेका छन्। “नाम सार्वजनिक गर्दा पार्टी नै संकटमा पर्न सक्छ,” भन्दै उनले सूची गोप्य राखिएको उल्लेख गरे। साथै, कसले कति रकम लिएको भन्ने विषयमा पनि कुनै विवरण खुलाइएको छैन।
यो अभिव्यक्तिसँगै सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ। “पैसा खाने काँग्रेसी को-को हुन्” भन्ने प्रश्न सर्वसाधारणदेखि राजनीतिक वृत्तसम्म उठ्न थालेको छ, जसले घटनालाई थप संवेदनशील बनाएको छ।
निर्वाचन परिणामअनुसार, यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवारले ३१,९५३ मतसहित विजयी हासिल गरेका थिए। काँग्रेसका शाहले ११,९५८ मत प्राप्त गर्दा आले ७,८७६ मतसहित तेस्रो स्थानमा सीमित भएका थिए।
हाल, यो प्रकरणले धनगढी सहित समग्र सुदूरपश्चिमको राजनीतिक वातावरणलाई तरंगित बनाएको छ। आरोपको सत्यता पुष्टि हुने/नहुने, नाम सार्वजनिक हुने/नहुने तथा यसले पार्टीभित्र कस्तो प्रभाव पार्ने भन्ने विषयमा चासो दिनप्रतिदिन बढ्दो छ।



















Discussion about this post