काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ। बुधबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले मिति संशोधनसहित महाधिवेशनको कार्यतालिका पारित गरेको हो।
महाधिवेशनअन्तर्गत भदौ ३ गतेबाट वडा अधिवेशन सुरु हुने निर्णय समेत गरिएको छ। यसअघि मंगलबारको बैठकमा सभापतिले भदौमै महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए।
बैठकले महाधिवेशनको तयारी प्रक्रिया अघि बढाउँदै वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति गठन गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
त्यस्तै, संविधान संशोधनको विषयमा पार्टीको नेतृत्वमा सर्वपक्षीय छलफल अघि बढाउने निर्णय पनि गरिएको छ। कांग्रेसले नयाँ बन्ने सरकारलाई सकारात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सुशासन र विकासमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेको छ।
यसैगरी, पार्टीका भातृ तथा शुभेच्छुक संस्थालाई सक्रिय र प्रभावकारी बनाउन महामन्त्रीद्वयको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको प्रवक्ता चालिसेले बताए।





















Discussion about this post