कञ्चनपुर । कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालेकी गीता चौधरीले वन पैदावर व्यवस्थापनदेखि आरक्ष पीडितका समस्या समाधानसम्मका विषयलाई प्राथमिकतामा राख्दै संवाद र छलफलमार्फत समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
कञ्चनपुरकी ३३ वर्षीया चौधरी साधारण थारू परिवारबाट उठेर संघर्षकै बलमा देशको कार्यपालिकासम्म पुगेकी हुन्। आर्थिक अभावका बीच अध्ययन अघि बढाएकी उनले कानुनमा स्नातकोत्तर गरेकी छन् र पछिल्लो समय कानुनवेत्ताका रूपमा परिचित थिइन्।
सामाजिक न्यायप्रति प्रतिबद्ध चौधरीले आफ्नो क्षेत्रमा गरिब, दलित तथा सीमान्तकृत समुदायका नागरिकलाई कानुनी परामर्श दिँदै आएकाे अनुभव छ। विशेषगरी जग्गा विवाद र घरेलु हिंसाका मुद्दामा उनले सहयोग पुर्याएकी थिइन्।
२०६२/०६३ को जनआन्दोलनपछि राजनीतिमा सक्रिय बनेकी चौधरी अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गर्दै विभिन्न उतारचढाव पार गर्दै मन्त्री पदसम्म आइपुगेकी हुन्।
भूमिहीन, सुकुमबासी तथा आरक्ष पीडितलाई लालपुर्जा दिलाउने, किसानलाई समयमै मल–बिउ उपलब्ध गराउने र शिक्षा क्षेत्रमा सुधार गर्ने एजेन्डा बोकेकी चौधरी अब ती प्रतिबद्धता कार्यान्वयन गर्ने भूमिकामा पुगेकी छन्।



















Discussion about this post