कञ्चनपुर । कञ्चनपुर देखि डडेल्धुरा जोड्ने दैजी–जोगबुढा सडक खण्डको निर्माण कार्य कछुवा गतिमा अघि बढेसंगै उक्त सडकमा यात्रा गर्ने यात्रु जोखिम पुर्ण यात्रा गर्न बाध्य भएका छन् ।
कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने उक्त खण्ड निर्माण विगत दुई वर्षयता कछुवा गतिमा अघि बढेको स्थानीय बताछन् । नार्गाजुन कन्स्ट्रक्सनले रु २१ करोडमा निर्माणको जिम्मेवारी पाए पनि काम भने कछुवा गतिमा भइरहदा जोखिम पुर्ण यात्रा गर्न त्यहाका स्थानीय बाध्य भएका छन् ।
स्थानीयका अनुसार चुनावको मुखमा काम गरे जस्तो गर्ने चुनाव सकिए पछि वास्ता नगर्ने नेताहरूको बानीले आफुहरू यस्तो जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको बताउछन् ।
गाडीवालाका अनुसार सिट अनुसारको सवारी लिए तेल खर्च समेत नभ्याउने हुदा सवारी कोचिकोचि बोक्नुपर्ने आफुहरूको समेत बाध्य रहेको जनाए । सडक बनिदिएको भए यो समस्या हुने थिएन ।
बेदकोट नगरपालिका–३ का वडाध्यक्ष मोहन बहादुर गुर्धामीले सडक स्तरोन्नतिका लागि पटक–पटक पालिकास्तरबाट ताकेता हुँदै आएको बताए । “प्रदेश सरकारको पनि ध्यानाकर्षण गराएका थियौँ”, वडाध्यक्ष गुर्धामीले भने “काम अघि बढाउँछौँ भनेर ठेकेदारका मान्छे भन्छन् मात्रै, गर्दैनन् ।”
कञ्चनपुरको महेन्द्रनगर, अत्तरिया हुँदै डडेल्धुरा पुग्न एक सय ६५ किलोमिटर दूरी पार गर्नुपर्छ भने महेन्द्रनगरबाट दैजी–जोगबुढा हुँदै डडेल्धुरा बजार पुग्न ६५ किलोमिटर पार गर्नु पर्छ ।
Discussion about this post