बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका पुगेका पुर्व मन्त्री तथा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले हुलाकी सडक अहिले सम्म नबनेका कारण बेलडाँडी आउन लाज भैसकेको बताएका छन् । चवन्नी बजार व्यवस्थापन समितिका अध्यक्ष ललिति खत्रीको अध्यक्षतामा चवन्नीमा बसेको सर्बदलिय सर्वपक्षिय भेलामा बोल्दै लेखकले २०७३ सालमा आफु भौतिक योजना तथा यातायात मन्त्री भएका बेला गरेको शिलन्यासले अहिले सम्म पुर्णता नपाउदा आफुलाई बेलडाँडी आउन लाज लागि सकेको उहाँले बताउनु भयो ।
उनले त्यतिबेला २०७६ साल भित्र कार्य सक्नेगरी शिलन्यास गरेका थिए । तर आफ्नै पार्टीका ठेक्दार भएका नेताहरुले काम नगरिदिदा दुःख व्यक्त गर्दै तुरुन्त १ हप्ता भित्रै यस विषयमा कदम चाल्ने बचन दिनु भयो ।
डोकेबजार देखि बेलौरी–बेलडाँडी दैजी जोड्ने हुलाकी राजमार्ग निर्माण गर्ने सम्झौता गरेका दुई निर्माण कम्पनीहरुले समयमै काम नगर्दा कालोपत्रेको काम अलपत्र परेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रको मेरुदण्डका रुपमा लिइएको डोकेबजार देखि बेलौरी–बेलडाँडी हुँदै दैजी जोड्ने बहुप्रतिक्षित हुलाकी राजमार्ग निर्माणका लागि २०७३ फागुनमा हुलाकी राजमार्ग योजना कार्यालयले दुईवटा निर्माण कम्पनीहरुसँग सम्झौता गरेको थियो ।
जम्मा ६२ किलोमिटर सडकखण्ड मध्ये डोकेबजारदेखि बेलौरीको बुटावारीसम्मको २० किलोमिटर र बेलडाँडीदेखि दैजीसम्मको २२ किलोमिटर सडकखण्ड शर्मा राजेन्द्र जेभी निर्माण कम्पनीलाई र बेलौरीको बुटावारीदेखि बेलडाँडी सम्मको २० किलोमिटर सडकखण्ड बाबाहंस सिद्धिशाही जेभी निर्माण कम्पनीलाई ३० महिनाभित्र कालोपत्रे गर्ने गरी ठेक्का दिइएको थियो । तर सम्झौता अवधि पछि पनि पटकपटक गरी पाचौँ पटक भन्दा बढीपटक थपिएको म्याद सकिँदा समेत दुवै निर्माण कम्पनीहरुले सडकखण्ड कालोपत्रेको काम पूरा गरेका छैनन् ।
दुवै निर्माण कम्पनीहरुले काममा ढिलासुस्ती र चरम लापरवाही गरिरहेका छन् । जसका कारण उक्त क्षेत्रका नागरिकहरुको जनजीवन नराम्ररी प्रभावित हुन पुगेको छ । निर्माण कम्पनीहरुले सम्झौता गरेको करीब ८ वर्षसम्म पनि सडक कालोपत्रे नगरेका कारण दक्षिणी क्षेत्रका नागरिकहरु बर्षौँदेखि धुलाम्य कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन् । सडक आसपासमा बसोबास गर्ने नागरिकहरु त्यही सडकबाट उडेर आएको धुलोले हैरान मात्रै छैनन् सडक दुर्घटनाको समेत त्यत्तिकै जोखिम मोलिरहेका छन् ।
केहि बर्ष पहिला बेलौरी क्षेत्रका केही जागरुक युवाहरुले त सडक कालोपत्रेको काम अलपत्र छोडेको भन्दै चोकचोकमा ठेकेदारका तस्बीर अंकित पोष्टर टाँसेर रचनात्मक बिरोध समेत जनाएका थिए । यस्तै गत बर्ष बेलडाँडी राष्ट्रिय स्वतन्त्र पार्टीले रचनात्मक बिरोध गर्दै दैजी देखि डोकेबजार सम्म पैदल यात्रा समेत गरेको थियो । कयौं पटक जनप्रतिनिधी, राजतिनिक दल उनका भाद्री संगठनहरुले हुलाकी सडक आयोजना कार्यालयमा ताला लगाउने देखि विभिन्न खवदारी जस्ता कार्य गर्दै आएका छन् । यस विषयमा पत्रकारहरुले सयौं पटक लेखेका छन् । हुलाकी राजमार्ग निर्माण कार्यमा चरम लापर्वाही र निक्कै बेवास्ता भएको यहाँका नागरिकहरुको गुनासो छ । समयमै काम नगर्ने निर्माण कम्पनीको ठेक्का बदर गरी कालोसूचिमा राख्नुपर्ने र ठेकेदारहरुलाई जरिवाना सहित कारबाही गर्नुपर्ने स्थानीयको जोडदार माग रहेको छ ।
निर्माण कम्पनीहरु मध्ये शर्मा राजेन्द्र जेभी निर्माण कम्पनीका सञ्चालक भीम बहादुर साउँद नेपाली काँग्रेस डडेल्धुरका सभापति हुन् भने बाबाहंस सिद्धिशाही जेभी निर्माण कम्पनीका सञ्चालक दीपेन्द्र शाही नेपाली काँग्रेस डोल्पाका जिल्ला सभापति हुन् । वहाँहरुलाई पटक–पटक टेलिफोन गर्दा समेत फोन सम्पर्कमा जोडिन मान्दैनन । विकास निर्माणका कार्यका लागि ठाउँठाउँको ठेक्का लिने तर समयमै काम नगरी राज्य पक्षलाई कमजोर सावित गर्न खोज्ने निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउन सके विकास निर्माणको कामले राहत पाउने थियो ।
Discussion about this post