कञ्चनपुर– नेकपा एमाले कञ्चनपुरले भोली विहिवार ३१औं मदन–आश्रित स्मृति दिवस मनाउने तयारी पुरा गरेको छ । नेकपा एमाले केन्द्रिय उपाध्यक्ष राम बहादुर थापा (बादल)को प्रमुख आतिथ्यमा कञ्चनपुरको उद्योग वाणिज्य संघको सभा हलमा भोली ‘जनताको बहुदलिय जनवादका’ विविध आयाम विषयक विचार गोष्ठी गरिने तयारी रहेको एमाले कञ्चनपुर उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख जनक राज अवस्थीले जानकारी गराउनु भयो ।
उहाँका अनुसार तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गतेकै दिन चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको दुखद दिनको सम्झनामा हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरि मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको बताउनु भयो ।
दिवसका अवसरमा बिहान ११ बजे उपाध्यक्ष बादल सहितका नेता कार्यकार्ताहरु श्रद्धाञ्जली सभामा सहभागी हुनुका साथै विचार गोष्ठीमा समेत सहभागि हुन सबैमा अनुरोध गरिएको अवस्थीले बताउनु भयो ।
रहस्यमय जिप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै पटक पटक आलोचना हुँदै आएको छ । जिप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको मृत्यु भएको थियो भने चालक अमर लामा भने बाँच्न सफल भएका थिए । लामाको २०६० सालमा हत्या भएपछि यो घटना रहस्यकै गर्भमै छ ।
Discussion about this post