कञ्चनपुर । भीमदत्त नगरपालिका अन्तर्गत सामाजिक बेथिति, विकृति र अवैध संरचना हटाउने विषयमा विवाद चुलिएको छ । विभिन्न राजनीतिक दल र स्थानीय जनसमुदायले नगरपालिकाले अवैध संरचना भत्काउन गरेको कदममा पक्षपातपूर्ण रवैया अपनाएको आरोप लगाएका छन् ।
भीमदत्त नगरका ८ राजनितिक दलहरुले अवैध संरचना हटाउन माग गर्दै आज सयुक्त वक्तब्य जारी गरेका छन् । भीमदत्त नगर विकास समितिको जमिनमा बनेका अवैध संरचनाको सम्बन्धमा सार्वजनिक सूचना जारी भए पनि, त्यसको कार्यान्वयन म्याद सकिएको लामो समय बितिसक्दा पनि नगरपालिकाले अवैध संरचना हटाउने कुनै ठोस कदम चालेको छैन । यसले स्थानीय सरकारको नीतिगत पारदर्शिता र संवेदनशीलतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
नगरपालिकाले सडक विस्तारका लागि खाद्य संस्थानका १५० सटर, बाल मन्दिरका ४५ र भीमदत्त नगर विकास समितिका २२ सटर भत्काएको थियो । तर मदन चौकका २२ सटरको म्याद सकिएको लामो समय बितिसक्दा पनि नगरपालिकाले व्यवसायीहरूलाई उचित व्यवस्थापन नगरेको र सोही ठाउँमा व्यवस्थापन गर्ने भनी कानूनी प्रक्रिया पुग्ने,नपुगेको कुरामा समेत ख्यालै नगरेको आरोप भीमदत्त नगरपालिकाका ८ सक्रिय दलले लगाएका छन् ।
स्थानीय जनसमुदायले नगरपालिकाका केही सटरहरू नक्कली सम्झौताका आधारमा व्यक्तिगत स्वार्थका लागि भाडामा लगाइएको र वास्तविक व्यवसायीहरूलाई विभेद गरिएको आरोप लगाएका छन् । यसैगरी, नगर विकास समितिको जमिनमा भएको विवादास्पद निर्णयले सर्वसाधारणबीच असन्तोषको भावना बढाएको छ ।
सार्वजनिक सरोकार र सामाजिक न्यायलाई ध्यानमा राख्दै, स्थानीय व्यवसायीहरूले तत्काल अवैध संरचना भत्काउन, व्यवसायीहरूको उचित व्यवस्थापन गर्न, र विचौलियाहरूलाई कानूनी दायरामा ल्याउन नगरपालिकासँग माग गरेका छन् ।
यस विषयमा नगर प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण आवश्यक देखिएको छ । यदि शीघ्र कदम चालिएन भने यसले नगरवासीहरूको स्थानीय सरकारप्रतिको विश्वासमाथि गम्भीर असर पार्न सक्ने सम्भावना छ ।
भीमदत्त नगरपालिकामा सामाजिक अन्याय र अवैध संरचनाको व्यवस्थापनसँग सम्बन्धित समस्याले स्थानीय स्तरमा ठूलो जनअसन्तोष खडा गरेको छ । यस विषयमा विभिन्न राजनीतिक दलहरूले लामो समयदेखि संघर्ष गर्दै आएका भए पनि समस्या अझै समाधान हुन नसकेको युवा नेता तथा अवैध संरचना खारेज अभियान्ता दिपेन्द्र सिंह ऐरीले जानकारी गराउनु भयो ।
विशेषगरी, मदन चौकका २२ सटरको विषयमा गरिएको निर्णय विवादित बनेको छ । व्यवसायीहरूको आरोप छ कि नगर प्रमुखले केही व्यक्तिहरूलाई लाभ पु¥याउन कानूनी मापदण्डको अवहेलना गर्दै नगर विकास समितिको जमिन उनीहरूको नियन्त्रणमा दिन प्रयास गरेका छन् । यो कदमले नगरपालिकाको औचित्य र पारदर्शितामाथि गम्भीर शंका उब्जाएको छ ।
दलहरुले जारी गरेको सयुक्त वक्तव्य यस रहेको छ : विगत लामो समय देखि हामी तपशिल बमोजिमका राजनीतिक दलहरु भिमदत्त नगरपालिका भित्रका समाजिक बेथिति विकृति विसंगतिका विरुद्ध संघर्षरत रहेको कुरा आम नगरवासी जनसमुदायमा अवगत नै छ ।
यसै सन्दर्भमा भिमदत्त नगरपालिका अन्तर्गत रहेको भिमदत्त नगर विकास समिति को जमिनमा बनेका अबैध संरचना भत्काउने बिषयमा भि न पा ले गरेको समाजिक अन्याय हुने गरि अबैध संरचना भत्काएको बिषय प्रति गम्भीर ध्यानाकर्षण भएको छ । अबैध संरचना हटाउने भनी भिमदत्त नगर विकास समितिले निकालेको सार्वजनिक सुचनाको म्याद सकिएको महिनौ बितिसक्दा पनि नगरपालिका अबैध संरचना हटाउने कुनै वास्ता छैन तसर्थ अबैध संरचना तत्काल भत्काउन अनुुरोध गर्दछौं ।
व्यवसायीक प्रयोजनका लागि बनेका खाध्य संस्थानका १५० सटर ,बाल मन्दिरका ४५ र भिमदत्त नगर विकास समितिका २२ सटर नगरपालिका ले आफ्नो सडक खण्ड चौडाइ गर्न आवश्यकता परेकाले र जिल्ला प्रशासनको सर्वदलीय निर्णय कार्यान्वयन गर्ने गरि भत्काएको थियोे, तर समाजिक न्यायको पनि धज्जि उडाउने गरी मदन चौकका २२ सटरको सम्झौता सकिएको महिनौ पछि पनि उक्त व्यवसायीहरुलाई गुम्राहमा राखि सोही ठाउँमा व्यवस्थापन गर्ने भनी नगर प्रमुखले सार्वजनिक जमिन केही अमुख व्यक्तिहरुलाई कानुनी मापदण्ड पनि पुग्ने÷नपुग्ने कुराको पनि ख्याल नगरी गरिएको कार्यले स्थानीय सरकारको समवेदनशीलता र औचित्यमा समेत प्रश्न चिन्ह खडा हुने गरि गरिएको निर्णयले समग्र व्यवस्था प्रति नै आम जनसमुदायको वितृष्णा उत्पन्न हुने गरी गरिएका अबैध निर्णय नम्बर ०४ तत्काल खारेज गर्न अपिल गर्दै उक्त व्यवसायीहरुको उचित व्यवस्थापन गर्न जोडदार माग गर्दछौं !
नगरपालिका का सटरहरु केही समिति व्यक्तिहरुका नाममा छन् वास्तविक व्यवसायीहरुलाई काम गर्ने वातावरणमा पनि नरहने गरि केही अमुख व्यक्तिहरुले नक्कली सम्झौता पत्र देखाएर भाडा असुलि रहेको बिषयमा नगरपालिका लाई गम्भीर हुन अनुरोध गर्नुका साथै यस्ता बिचौलियाहरुलाई कानुनी दायरा पनि ल्याउन अपिल गर्दछौं ।
Discussion about this post