बेलडाँडीको बैवाहमा भोलि भब्य माघ मिलन कार्यक्रम हुने

बेलडाँडी, १ माघ । बेलडाँडी गाउँपालिका वडा नं. ३ को बैवाहमा भोलि २ गते “हमार रिती हमर संस्कृति इहिन जर्गेना कर्ना हमर साझा अभियान“ भन्ने मुल नारासहित भव्य माघ मिलन कार्यक्रम हुने भएको छ । बेलडाँडी गाउँपालिकाको प्रवद्र्धन र हमार माघी मिलन समितिको आयोजनामा माघ मिलन बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको जनाइएको छ ।

माघ मिलन पर्व थारु समुदायको विशेष पर्व हो, जुन नयाँ वर्षको रूपमा मनाइन्छ । यस पर्वले थारु समाजका परम्परागत र सांस्कृतिक मूल्यलाई सम्मान गर्दै, सामूहिक एकता र भाईचारा बढाउने काम गर्दछ । यस पटकको माघ मिलन कार्यक्रममा सांस्कृतिक झाँकी सहित विभिन्न आकर्षक गतिविधिहरू आयोजना हुनेछन् । कार्यक्रमको पूर्वसन्ध्यामा बिहान ९ बजे थारु संग्राहलय देखि कार्यक्रम स्थल सम्म सांस्कृतिक झाँकी पनि निकालिने भएको छ, जसले थारु समुदायको सांस्कृतिक धरोहरलाई उजागर गर्नेछ । कार्यक्रम बिहान १० बजे बेलडाँडी गाउँपालिकाका प्रमुख हरिशचन्द्र रानाद्धारा उदघाटन गर्ने तयारी भएको आयोजकले जनाएको छ ।

यस वर्षको माघ मिलन कार्यक्रममा राष्ट्रिय कलाकार गायक दर्पन कोसम्याको साथमा स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहने छ । सांगीतिक कार्यक्रम र लोक कला प्रस्तुतिहरूले कार्यक्रममा थप रंग र रमाइलो थप्नेछन् ।

समितिका अध्यक्ष जयराम चौधरीले कार्यक्रममा आमन्त्रण गर्दै भने, “आउनु होस्, हामी सबै मिलेर भव्य र सभ्य तरिकाले मौलिकरुपमा कार्यक्रमलाई सफल पारौं । यस कार्यक्रमले हाम्रो सांस्कृतिक धरोहरलाई सम्मान गर्दै, समृद्धि र एकताको सन्देश फैलाउनेछ ।“

समितिका अनुसार, बेलडाँडीका सबै नागरिक र स्थानीय समुदायलाई कार्यक्रममा सक्रिय रूपमा सहभागी हुन आह्वान गरिएको छ । यस कार्यक्रमले माघी पर्वको सांस्कृतिक महत्त्वलाई जोगाउँदै, समग्र समुदायलाई एक ठाउँमा ल्याउने छ ।

बेलडाँडी गाउँपालिकामा आयोजित यस भव्य माघ मिलन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ, र यसले स्थानीय कलाकारहरूको प्रतिभा र थारु समाजको सांस्कृतिक विविधता र मौलिकतासँग परिचित गराउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित