बेलडाँडी । बेलडाँडी गाउँपालिका वडा नम्बर २, ४, र ५ लाई जोड्ने ९६ मिटर लामो ट्रस पुलको लेआउट गर्ने कार्य सुरु गरिएको छ । स्थानीय बासिन्दाको बहुप्रतीक्षित यो योजना गाउँपालिका प्रमुख हरिशचन्द्र रानाको पहलमा अघि बढाइएको हो । छिट्टै शिलान्यास गरी निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरिने बताइएको छ ।
प्रमुख रानाले यो पुलको निर्माणले तीन वडाबीचको आवागमनलाई सहज बनाउने मात्र नभई, क्षेत्रको समग्र विकासका लागि आधारशीला तयार पार्ने बताए । “यस पुलको निर्माणसँगै अन्य स्थानमा पनि यस्ता पुलहरूको आवश्यकता छ । ती ठाउँका लागि पनि पहल गरिरहेको छु,” उनले भने ।
गाउँपालिकाभित्र विकासका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण कार्य अघि बढ्दा स्थानीय बासिन्दामा उत्साह थपिएको छ । विशेष गरी, खेतीपातीका सामान ओसारपसार गर्न कठिनाइ भोग्दै आएका किसानहरूलाई यो पुलले ठूलो राहत दिने विश्वास गरिएको छ ।
पुल निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन संघिय सरकार र स्थानीय निकायको सहकार्यमा गरिएको छ । प्राविधिक टोलीले निर्माणस्थलको अध्ययन गरिसकेको छ । ९६ मिटर लामो यो पुल उच्च गुणस्तरको रहने र दिगो विकासका मापदण्डहरू पूरा गरिने जानकारी गराइएको छ ।
गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले पुल निर्माण योजनामा कुनै प्रकारको विलम्ब हुन नदिने र तोकिएको समयमा सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, “यो पुल मात्र सुरुआत हो । अब बेलडाँडीका अन्य ठाउँमा पनि यस्तो सुविधा पुरÞ्याउन मेरो ध्यान केन्द्रित छ । विकासलाई थप तीव्रता दिन गाउँपालिकाका विभिन्न योजना निर्माणमा सक्रिय छु ।” उनले साना खोलाहरूमा झोलुंगे पुल निर्माण, ग्रामीण सडक विस्तार, र खाल्डाखुल्डी पुर्ने कार्यलाई पनि प्राथमिकतामा राख्ने बताए ।
यस पुलले वडा नम्बर २ को चवन्नी खल्ला, ४ को बैवाह, र ५ को इमलीया, झिलमिला का बासिन्दाहरूबीच आपसी सम्बन्ध र व्यापारिक गतिविधि विस्तार गर्न सहयोग पुरÞ्याउनेछ । साथै, यो पुलले स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा पनि सकारात्मक प्रभाव पर्नेछ ।
९६ मिटर लामो ट्रस पुल निर्माणले बेलडाँडी गाउँपालिकाको विकास यात्रा नयाँ उचाइमा पुरÞ्याउनेछ । प्रमुख हरिशचन्द्र रानाको नेतृत्व र स्थानीय बासिन्दाको सहयोगले यो योजना छिट्टै पूरा हुने विश्वास लिइएको छ । पुल निर्माणपछि गाउँपालिकाभित्र यातायात र विकासका गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ ।
Discussion about this post