कञ्चनपुर— सुदुरपश्चिमको पहिलो सार्वजनिक सवारी साधन चलाउने महिला ड्राइभर रविना चन्दलाई भीमदत्त नगरपालिकाले विशेष सम्मान प्रदान गरेको छ । बैतडी जिल्लाको पन्चेस्वर गाउँपालिका वडा नम्बर ४ सैलोडा बस्ने १९ वर्षीया रविना चन्दले बैतडीदेखि महेन्द्रनगर जाने बोलेरो जिप चलाउँदै महिला सशक्तिकरणको नयाँ आयाम प्रस्तुत गरेकी छन् ।
रविनालाई सम्मानित गर्ने कार्यक्रम हिजो भीमदत्त नगरपालिका कार्यालयमा सम्पन्न भएको थियो । कार्यक्रममा नगर प्रमुख पदम बोगटी र उप प्रमुख निलम लेखक जोशी लगायतका प्रमुख व्यक्तिहरूको उपस्थितमा रविनालाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
नगर प्रमुख पदम बोगटीले रविनाको साहसिक कार्यलाई उच्च मूल्यांकन गर्दै उनले भने, “रविनाले देखाएको यो साहसिक कदम अरु महिलाका लागि प्रेरणादायक छ । महिला सशक्तिकरणको दिशा तय गर्ने कार्यमा उहाँको योगदान अनमोल छ ।”
उप प्रमुख निलम लेखक जोशीले पनि रविनालाई बधाई दिँदै थपे, “महिला हुनाले कुनै पनि काम कठिन हुन्न । रविनाले आफ्नो हिम्मत र मेहनतबाट यो कुरा प्रमाणित गर्नुभएको छ ।” यस सम्मानले समाजमा महिलाको योगदान र सशक्तिकरणको महत्त्वलाई अझ प्रकट गरेको बताउदै उप प्रमुखले भने भविष्यमा अरु महिलाहरूलाई पनि अवसरहरूको खोजी गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नु भयो ।
यस अवसरमा सम्मानित भएकोपछि रविना चन्दले आभार व्यक्त गर्दै भनिन्, “मलाई यो सम्मान प्राप्त गर्न पाउँदा ठूलो गर्व महसुस भइरहेको छ। महिलाहरूलाई आफ्नो सपना पछ्याउन र कुनै पनि काम गर्नका लागि साहस हुनु पर्छ। म विश्वास गर्छु कि आट्यो भने के सम्भव छैन।”
यस सम्मानले समाजमा महिलाको योगदान र सशक्तिकरणको महत्त्वलाई अझ प्रकट गरेको छ र भविष्यमा अरु महिलाहरूलाई पनि नयाँ चुनौती र अवसरहरूको खोजी गर्न प्रेरित गर्ने विश्वास गरिएको छ।



















Discussion about this post