दार्चुला, माघ २२ । महाकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पहिलो पटक महिला नियुक्त भएकी छन्। नगर शिक्षा शाखा प्रमुख समेत रहेकी ईश्वरी ठगुन्ना सोमबारदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै छिन्।
नगर कार्यपालिकाले माघ १८ गते ठगुन्नालाई सिफारिस गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई स्थायी प्रमुख प्रशासकीय अधिकृत नियुक्त नभएसम्म कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी दिएको हो।
मन्त्रालयका शाखा अधिकृत उमेश कुमार दाहालका अनुसार, नगरपालिकाका बरिष्ठ कर्मचारीमध्ये ठगुन्नालाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ (४) अनुसार जिम्मेवारी दिइएको हो।
यसअघि लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत रहेका नरसिंह बडालको जिम्मेवारी माघ १० गते मन्त्रालयले खोसेको थियो। बरिष्ठ कर्मचारी हुँदाहुँदै कनिष्ठ कर्मचारीले निमित्त भएर काम गरिरहेको भन्दै मन्त्रालयले उनलाई हटाएको हो।
नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह (अधिकृत सातौं) तहकी ठगुन्नाले मंगलबार पदभार ग्रहण गरिन्। दार्चुलामा प्रमुख प्रशासकीय अधिकृत बन्ने उनी पहिलो महिला हुन्। जिम्मेवारी ग्रहण गरेपछि उनले “निष्पक्ष र निर्भिक भएर कार्य सम्पादन गर्ने” प्रतिवद्धता जनाएकी छिन्।
उनको नियुक्तिले महिला सशक्तीकरणमा नयाँ प्रेरणा मिल्ने स्थानीयवासीको विश्वास छ। प्रशासनिक क्षेत्रमा उनको लामो अनुभवले नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
Discussion about this post