भारत–पाकिस्तानबीच तनाव चुलिएपछि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ। पछिल्लो क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले भारततर्फका सीमामा १ हजार ८४४ स्थानमा चेकप्वाइन्ट स्थापना गरी कडाइका साथ जाँच र निगरानी थालेको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार पछिल्लो ४८ घण्टामा सीमा क्षेत्रमा ३१२ पटक गस्ती (पेट्रोलिङ) गरिएको छ। वैशाख २३ देखि २५ गतेसम्म भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँग सहकार्य गर्दै ८४ संयुक्त र २ सय २८ एकल गस्ती गरिएको उनले जानकारी दिए।
थापाका अनुसार वैशाख २३ गते २०, वैशाख २४ गते १६ र वैशाख २५ गते ४८ संयुक्त गस्ती भएको छ। सोही अवधिमा एकल गस्ती क्रमशः ८९, ६४ र ७५ पटक गरी कुल २ सय २८ पटक सञ्चालन गरिएको छ।
सीमा सुरक्षा मजबुत पार्न वैशाख २३ गते ५६४, वैशाख २४ र २५ गते गरी प्रत्येक दिन ६४० वटा गरी तीन दिनमा १ हजार ८४४ स्थानमा चेकप्वाइन्ट राखिएको छ। गस्ती र चेकजाँचको कार्यलाई निरन्तरता दिइएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालका १ नं. बराह बाहिनी सुनसरी, २ नं. छिन्नमस्ता बाहिनी महोत्तरी, ३ नं. गढिमाई बाहिनी मकवानपुर, ४ नं. मुक्तिनाथ बाहिनी कास्की, ५ नं. विन्ध्यावासिनी बाहिनी रुपन्देही र ७ नं. वैद्यनाथ बाहिनी कैलाली मातहतका कार्यालयबाट १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
सीमा व्यवस्थापनलाई व्यवस्थित बनाउन र हुनसक्ने अवैध गतिविधि रोक्न सशस्त्र प्रहरी बल नेपालले नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समन्वय गरी सूचना आदान–प्रदान र निगरानीलाई थप कडाइ गरेको छ।
तर, परम्परादेखि चलिआएको सीमा वारपारको नियमित आवतजावतलाई सहज बनाउनेतर्फ पनि सचेतना अपनाइएको सशस्त्र प्रहरीले जनाएको छ। साथै, शहरी क्षेत्रका संवेदनशील स्थानमा समेत सुरक्षा निगरानी थप कडाइ गरिएको छ।
Discussion about this post