कञ्चनपुर । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मदन राज उपाध्यायले जनतासँग प्रत्यक्ष संवाद गर्दै समाज बुझ्ने उद्देश्यसहित आफ्नो निर्वाचन क्षेत्रका चार पालिकाका ३२ वडामा पैदल यात्रा शुरू गरेका छन् ।
पुनर्वास नगरपालिका-११ स्थित डोकेबजारमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उपाध्यायले जेन–जी आन्दोलनपछिको बद्लिँदो राजनीतिक र मनोसामाजिक अवस्थालाई आत्मसात गर्दै आशा, सम्भावना र समाधान खोज्ने अभियानका रूपमा पैदल यात्राको घोषणा गरेका हुन् ।
“म देशलाई प्रेम गर्छु, तर जनतालाई झन् धेरै प्रेम गर्छु,” भन्दै उनले जनताको घर–आँगनमै पुगेर आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, कृषि तथा सांस्कृतिक अवस्थाको यथार्थ बुझ्ने र त्यसबाट सिकेका पाठलाई आफ्नो राजनीतिक यात्रामा लागू गर्ने प्रतिबद्धता जनाए ।
उपाध्यायले पैदल यात्राका क्रममा किसान, श्रमिक, शिक्षक, बुद्धिजीवी, महिला, जेष्ठ नागरिक, युवा तथा सीमान्तकृत समुदायसँग प्रत्यक्ष साक्षात्कार गर्ने बताए । उनले नागरिकका आवाज लेख, रचना र बहसका माध्यमबाट पार्टी र राज्यको दैलोसम्म पुर्याउने उद्देश्य रहेको उल्लेख गरे ।
उनले कञ्चनपुर क्षेत्र नम्बर १ लाई कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य र समृद्धिको हव बनाउने लक्ष्यसहित काम गर्ने बताए । “हाम्रो क्षेत्र प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । थारु संग्राहलयदेखि गुम्बा, मस्जिद, मन्दिर, ताल–तालाउ, जंगल र निकुञ्जसम्म यहाँ अपार सम्भावना छन्,” उनले भने, “यिनको संरक्षण र प्रवर्द्धन गर्न सके गेटा विमानस्थल आउने पर्यटकहरू अनिवार्य रूपमा यहाँ घुम्न आउने वातावरण बनाउन सकिन्छ ।”
उपाध्यायले आजको राजनीतिमा सामाजिक सञ्जाल र मिडियामुखी प्रवृत्तिभन्दा जनतासँगै हिँड्ने संस्कार आवश्यक रहेको धारणा राखे । “साँचो नेता जनताभित्रै जन्मिन्छ । जनताको पीडा बुझ्न नसक्ने नेतृत्वले नयाँ राजनीतिक संस्कार निर्माण गर्न सक्दैन,” उनले स्पष्ट पारे ।
कृषि, रोजगारी र उद्यमशीलताको विषयमा बोल्दै उनले आधुनिक प्रविधि, सिँचाइ, बजार पहुँच, सहकारी प्रणाली र कृषक-मैत्री नीतिको खाँचो औंल्याए । साथै विदेशिँदो युवाशक्तिलाई रोक्न स्थानीयस्तरमै सीप, लगानी र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।
महिला, जेष्ठ नागरिक, दलित, आदिवासी तथा विपन्न वर्गका सवालमा सम्मान, सेवा र समान अवसर सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, सडक, विद्युत् र इन्टरनेटजस्ता आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।
“मेरो क्षेत्र विविध भाषा, जात, धर्म र संस्कृतिको साझा फुलबारी हो । यही विविधता हाम्रो शक्ति हो,” उपाध्यायले भने, “समुदायिक एकता, सहकार्य र सहभागितामै समृद्ध भविष्यको बाटो छ ।”
पैदल यात्रा कुनै पद, प्रभाव वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको जीवन, समस्या र समाधान खोज्ने पवित्र अभियान भएको उनले स्पष्ट पारे । साथै, अभियानलाई प्रभावकारी बनाउन पत्रकारहरूबाट सुझाव र साथको अपेक्षा समेत गरे ।
कार्यक्रमको अन्त्यमा उनले सुशासन, पारदर्शिता, उत्तरदायी नेतृत्व र नागरिक सहभागितामै दिगो, आत्मनिर्भर र समुन्नत राष्ट्र निर्माण सम्भव हुने विश्वास व्यक्त गर्दै पैदल यात्रा डोकेबजारबाट शुरुगरेका छन् ।
























Discussion about this post