मुख्यमन्त्रीदेखि मन्त्रीसम्म, मतपेटिकाले देखायो सुदूरपश्चिमका ‘दिग्गज’को हैसियत

धनगढी । नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य पदको निर्वाचनले सुदूरपश्चिम प्रदेशका केही प्रभावशाली नेताहरूलाई कठोर सन्देश दिएको छ। नाम, पद र जिम्मेवारीका हिसाबले अगाडि देखिएका नेताहरू मतपेटिकासम्म आइपुग्दा भने अपेक्षाअनुसार उक्लन सकेनन्।

अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक प्यानलबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावल निर्वाचित हुन असफल भए। प्यानलको टिकट बोकेर मैदानमा उत्रिएका रावलले जम्मा ९४३ मतमै सीमित रहँदै केन्द्रीय राजनीतिमा पुनः प्रवेशको ढोका बन्द गराए। मुख्यमन्त्रीको कुर्सीबाट केन्द्रीय कमिटीसम्मको यात्रा सहज हुने अनुमान उल्टो सावित भयो।

यस्तै, प्रदेश सरकारका वर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाको हकमा त परिणाम झन् कड्किलो देखियो। अध्यक्ष ओलीको समूहमा स्थान नपाएपछि भूगोल सुदूरपश्चिमतर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका थापाले जम्मा २३८ मत मात्रै पाए। प्रदेश मन्त्रीको हैसियत र संगठनभित्रको दाबी मतपेटिकामा खासै प्रभाव पार्न नसकेको नतिजाले देखायो।

त्यसैगरी, एमाले कैलाली जिल्ला इन्चार्ज नारदमुनि राना पनि केन्द्रीय सदस्य बन्ने दौडबाट बाहिरिए। भूगोलतर्फबाट स्वतन्त्र उम्मेदवार बनेका रानाले ३८५ मत प्राप्त गर्दै पराजय भोगे।

समग्रमा हेर्दा, आधिकारिक प्यानल बाहिर रहेर उम्मेदवारी दिएका सुदूरपश्चिमका नेताहरूलाई चुनाव जित्न कति कठिन हुन्छ भन्ने यथार्थ यो निर्वाचनले उजागर गरेको छ। पद, प्रतिष्ठा र प्रभावभन्दा माथि प्यानल र संगठनको अंकगणित बलियो हुने एमालेको आन्तरिक राजनीति एकपटक फेरि पुष्टि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित