काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरण अरूले भाषणमा गर्ने तर एमालेले व्यवहारमै देखाइसकेको दाबी गरेका छन्।
११औँ महाधिवेशनपछि शुक्रबार बसेको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेतृत्वमा नयाँ पुस्तालाई समेट्दै सन्तुलित संरचना निर्माण गरिएको बताए। उनले एमालेभित्र अनुभवी नेतृत्व र उत्साही नयाँ पुस्ताबीच राम्रो संयोजन कायम भएको उल्लेख गरे।
‘नेतृत्वमा केही नयाँ पुस्तालाई पनि ल्याऔँ भन्ने कुरा अरूले गर्छन्, हामीले त कामले नै देखाइसकेका छौँ,’ ओलीले भने, ‘हामीभित्र सन्तुलनकारी नेतृत्व छ। नयाँ पुस्ता मात्र होइन, महिलाहरूको पनि उल्लेख्य सहभागिता रहेको छ। अनुभवीदेखि उत्साही पुस्तासम्मको सहभागिताले पार्टीलाई अझ सशक्त बनाएको छ।’
७६ वर्ष लामो इतिहास बोकेको पार्टीमा जेन–जी पुस्ताको सहभागिता हुनु सामान्य कुरा नभएको उल्लेख गर्दै अध्यक्ष ओलीले यसले एमालेको निरन्तरता र जीवित संगठनात्मक चरित्रलाई पुष्टि गर्ने बताए। नेतृत्वको निरन्तरतासहित पार्टीलाई अघि बढाइएको भन्दै उनले केन्द्रीय कमिटीको पहिलो बैठकबाटै केही महत्वपूर्ण कामको थालनी गर्ने घोषणा गरे।
अध्यक्ष ओलीले आगामी दिनमा पार्टीका निर्णय र कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित करिब तीन हप्ताभित्र अर्को केन्द्रीय कमिटी बैठक बोलाइने जानकारी पनि दिए।























Discussion about this post