बालेन-रवि बीच बृहत् एकताको सहमति, नयाँ पुस्तामा उत्साहको लहर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच बहुप्रतिक्षित ‘बृहत् एकता’ सम्बन्धी औपचारिक सहमति भएको छ। भ्रष्टाचार र कुशासनविरुद्ध उभिएको नयाँ राजनीतिक धारलाई संस्थागत रूप दिन गरिएको यो सहमतिले देशको वैकल्पिक राजनीतिमा नयाँ मोड ल्याएको छ।

सहमति अनुसार, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र सुशासन कायम गर्दै आम नागरिकका आकांक्षा सम्बोधन गर्न दुवै पक्ष एकजुट भएका छन्। २०८२ साल भदौ २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलनसहित विभिन्न कालखण्डका जनआन्दोलनका शहीद तथा घाइतेको बलिदानलाई स्मरण गर्दै साझा लक्ष्यका साथ अघि बढ्ने प्रतिबद्धता जनाइएको छ।

मुख्य सहमतिका बुँदा यस प्रकार छन् :
भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरूले गरेको आन्दोलनको अपनत्व लिँदै शहीद तथा घाइते परिवारका मागको यथोचित सम्बोधन गर्ने ।
गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्र कार्यान्वयन गर्ने ।
बृहत् एकतापछि दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी” नै कायम रहने, झण्डा निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टी रहने र चुनाव चिन्ह ‘घण्टी’ नै हुने ।
पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आगामी प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।
पार्टी संगठनलाई थप सशक्त बनाउन युवा अभियन्ता र अनुभवी विज्ञलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने ।
सहमति बमोजिम पार्टीसम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने ।
सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिलाई आह्वान गर्ने ।

यो सहमतिपत्रमा रवि लामिछाने र बालेन्द्र शाह दुवैको हस्ताक्षर रहेको छ। सहमति पुष १३, २०८२ मा काठमाडौँमा सम्पन्न भएको हो।

बालेन र रवि लामिछानेबीच भएको यो सहमतिलाई नयाँ पुस्ताले आशाको संकेतका रूपमा लिएको छ। सामाजिक सञ्जालमा युवाहरूले “वैकल्पिक राजनीतिले गति लियो”, “अब पुरानो सोचलाई चुनौती” जस्ता प्रतिक्रिया दिइरहेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार, यो एकताले आगामी निर्वाचनमा मात्र होइन, नेपालको समग्र राजनीतिक संस्कार परिवर्तन गर्ने सम्भावना बोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित