काठमाडौँ । जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङले राष्ट्रिय राजनीतिमा नयाँ समीकरणको संकेत गर्दै रवि लामिछाने, बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङ चुनावमा सँगै जाने तयारीमा रहेको दाबी गरेका छन् ।
गुरुङले सामाजिक सञ्जालमार्फत रवि, बालेन र कुलमानसँगको सामूहिक तस्बिर सार्वजनिक गर्दै तीनै जनालाई एउटै मोर्चामा उभ्याउन सफल भएको उल्लेख गरेका छन् । उनले यस कदमलाई ऐतिहासिक बताउँदै राष्ट्र र भविष्यका लागि गरिएको पहल भएको दाबी गरेका हुन् ।
उनले लेखेका छन्, “हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाएरै छोडेँ । इतिहासले यो सम्झनेछ । रवि, बालेन र कुलमान चुनावमा सँगै लड्नेछन् ।”
यसैबीच आज काठमाडौँको कमलपोखरी क्षेत्रमा रवि, बालेन र कुलमानबीच सहमति जुटेको बताइएको छ । स्रोतका अनुसार उनीहरूबीच सहमतिपत्रमा हस्ताक्षरको तयारी समेत भइरहेको छ । यद्यपि सहमतिका औपचारिक विवरण भने सार्वजनिक भइसकेका छैनन् ।
यदि यो सहकार्य व्यवहारमा उतारियो भने, यसले आगामी निर्वाचनमा नयाँ राजनीतिक ध्रुवीकरण ल्याउने र जनतामाझ ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ । रवि लामिछानेको वैकल्पिक राजनीति, बालेन शाहको स्वतन्त्र पहिचान र कुलमान घिसिङको सुशासन तथा व्यवस्थापन छविको संयोजनलाई धेरैले आशाको रूपमा हेरिरहेका छन् ।
जेन-जी पुस्ताको प्रतिनिधित्व गर्ने सुदन गुरुङको यो पहलले आगामी दिनमा नेपाली राजनीतिमा नयाँ बहस र सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ ।
























Discussion about this post