काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ । कमलादीस्थित रास्वपा केन्द्रीय सदस्य असिम शाहको कार्यालयमा सम्पन्न छलफलपछि दुवै पक्षबीच औपचारिक सहमति भएको हो ।
सहमतिअनुसार उज्यालो नेपाल पार्टी रास्वपामा विलय भएको छ । सहमतिसँगै कुलमान घिसिङलाई रास्वपाको उपसभापति बनाउँदै पार्टीको नेतृत्व तहमा दोस्रो वरियतामा राखिएको छ । उनका साथै डीपी अर्याल र डा. स्वर्णिम वाग्ले पनि उपसभापतिका रूपमा रहने सहमतिमा उल्लेख छ ।
यो एकतालाई भ्रष्टाचार, कुशासन र असक्षम राजनीतिक अभ्यासविरुद्ध नयाँ पुस्ताले उठाएको आवाजको संस्थागत रूप का रूपमा हेरिएको छ । सहमतिमा जन-आन्दोलनका क्रममा घाइते तथा शहीद परिवारका मागप्रति गम्भीरता देखाउँदै यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ ।
सहमतिले उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, दक्षतामा आधारित राजनीति, योग्यताप्रणाली (मेरिटोक्रेसी), भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनलाई साझा आधार बनाएको छ । सामाजिक न्याय, आर्थिक-सामाजिक अन्तर न्यूनीकरण र सुशासनमुखी राजनीतिक अभ्यासमार्फत नेपाली नागरिकको सम्मानजनक भविष्य निर्माण गर्ने कार्ययोजना अघि बढाउने उल्लेख छ ।
पार्टी संरचनाका विषयमा सहमतिले रास्वपाको नाम, चुनाव चिन्ह ‘घण्टी’, झण्डा र संगठनात्मक पहिचान यथावत् रहने स्पष्ट गरेको छ । एकतापछि पार्टीको केन्द्रीय समिति र संरचना रास्वपाको विधानअनुसार सञ्चालन हुने सहमति भएको छ ।
उज्यालो नेपालको अभियान, युवा आन्दोलन र विज्ञ समूहलाई रास्वपाको कार्यक्रमसँग जोड्दै संगठनलाई थप सबल र प्रभावकारी बनाउने, समावेशिता र सार्वजनिक हितलाई केन्द्रमा राखेर जिम्मेवारी बाँडफाँड गर्ने पनि सहमतिमा समेटिएको छ ।
सहमतिअनुसार दलसम्बन्धी आवश्यक प्रक्रिया निर्वाचन आयोगमा पूरा गरिनेछ । साथै लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायको पक्षमा उभिने अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई समेत ‘घण्टी’ चुनाव चिन्हमा गोलबद्ध हुन आह्वान गरिएको छ ।
राजनीतिमा विश्वास गुम्दै गएको वर्तमान अवस्थामा यो सहमतिलाई नयाँ पुस्ताले खोजेको एकता, उत्तरदायी नेतृत्व र सुधारमुखी राजनीतिक यात्राको सुरुवात का रूपमा विश्लेषण गर्न थालिएको छ ।























Discussion about this post