धनगढी। सुदूरपश्चिम प्रदेशसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधित्व स्थापित भएको छ। डडेल्धुराबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य डाक्टर तारा जोशी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेसँगै प्रदेशसभामा रास्वपाको उपस्थिति कायम भएको हो।
सोमबार बेलुका राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङको संरक्षकत्वमा रहेको उज्यालो नेपाल पार्टीबीच एकता घोषणा भएसँगै डाक्टर जोशी रास्वपाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने पहिलो सांसद बनेका हुन्।
रास्वपा-उज्यालो नेपाल पार्टी एकताका लागि गठित वार्ता टोलीका संयोजकसमेत रहेका डाक्टर जोशी लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका थिए। उनी डडेल्धुरामा नेकपा एमालेको नेतृत्वदायी भूमिकामा रहेर राजनीति गरेका नेता हुन्।
पछि एकीकृत समाजवादी पार्टी हुँदै स्वतन्त्र उम्मेदवारका रूपमा प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका जोशी निर्वाचित भएपछि उज्यालो नेपाल पार्टीमा आवद्ध भएका थिए। त्यही राजनीतिक यात्राको क्रममा उनी हाल राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका हुन्।
डाक्टर जोशीको रास्वपामा प्रवेशसँगै सुदूरपश्चिम प्रदेशसभामा पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टीको औपचारिक उपस्थिति कायम भएको छ, जसलाई पार्टीका लागि महत्वपूर्ण राजनीतिक उपलब्धिका रूपमा हेरिएको छ।























Discussion about this post