काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने तयारी गरेका छन् । स्थानीय तहमा स्वतन्त्र छवि निर्माण गरेका बालेन अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मार्फत संसदीय राजनीतिमा होमिन लागेका हुन् । उनी रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।
मेयर पदमा रहँदासम्म कायम राखेको स्वतन्त्र पहिचानलाई सम्मान गर्दै बालेनले आगामी माघ ४ गते औपचारिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन् । रास्वपामा वरिष्ठ नेताको हैसियतमा सहमति भइसके पनि उनी हालसम्म पार्टीका औपचारिक कार्यक्रममा सहभागी भएका छैनन् । राजीनामा दिएलगत्तै बालेन रास्वपाको केन्द्रीय कार्यालय ‘घण्टीघर’ पुगेर पार्टीको चुनावी अभियानको कमाण्ड सम्हाल्नेछन् ।
माघ ४ : राजीनामा र घण्टीघर प्रस्थान
माघ ४ गते मध्यान्ह बालेनले काठमाडौँ महानगरपालिकाको कार्यकक्षबाटै राजीनामा दिने कार्यतालिका छ । सोही दिन दिउँसो उनी चमतीस्थित रास्वपाको केन्द्रीय कार्यालय घण्टीघर पुग्नेछन् । त्यहाँ पार्टीले विशेष स्वागत कार्यक्रम आयोजना गर्ने र बालेनले औपचारिक रूपमा चुनावी अभियानको नेतृत्व सम्हाल्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
माघ ५ : मधेसबाट राष्ट्रिय अभियानको सुरुवात
राजनीतिक यात्राको पहिलो चरणमा बालेनले मधेस प्रदेशलाई प्राथमिकतामा राखेका छन् । माघ ५ गते उनी हवाईमार्ग हुँदै जनकपुर पुग्नेछन् । जनकपुरमा आयोजना हुने दुई कार्यक्रममा उनी सहभागी हुनेछन्, जसमा एउटा ठूलाे चुनावी सभा हुन सक्ने बताइएको छ । यस भ्रमणलाई मधेसमा बालेन र रास्वपाको जनसमर्थन मापन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
माघ ६ : झापा-५ बाट उम्मेदवारी
जनकपुरको कार्यक्रमपछि बालेन सडकमार्ग हुँदै झापा प्रस्थान गर्नेछन् । माघ ६ गते झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउने उनको कार्यतालिका छ । सोही दिनदेखि झापामा बालेनको सम्पर्क कार्यालय सञ्चालनमा आउनेछ ।
झापा–५ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भएकाले बालेनको उम्मेदवारीलाई नेपाली राजनीतिमा विशेष चासोका साथ हेरिएको छ । बालेनले झापामा सम्पर्क कार्यालय र बसोबास तथा सचिवालयका लागि छुट्टाछुट्टै दुई कार्यालय खोल्ने तयारी गरेका छन् ।
माघ ७ देखि : घरदैलो र तीव्र चुनावी प्रचार
उम्मेदवारी दर्तापछि माघ ७ गतेदेखि बालेन पूर्ण रूपमा चुनावी प्रचारप्रसारमा होमिनेछन् । उनले झापाका विभिन्न टोल र बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने र आफ्नो एजेण्डा प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।
‘उहाँलाई झापा मात्रै होइन, समय मिलेसम्म विभिन्न जिल्लामा लैजाने प्रयास हुनेछ,’ बालेन निकट स्रोतले भन्यो, ‘जति धेरै निर्वाचन क्षेत्रमा उहाँ पुग्नुहुन्छ, घण्टीमा त्यति धेरै मत खस्ने आंकलन गरिएको छ ।’
झापापछि मधेस र सुदूरपश्चिम फोकस
स्रोतका अनुसार बालेन झापामा एक-दुई दिन कार्यक्रम सकेपछि सुदूरपश्चिमका दुई जिल्लामा पुग्न सक्नेछन् । यद्यपि कार्यक्रम अन्तिम रूप दिइसकिएको छैन ।
बालेनलाई सुदूरपश्चिम पुग्न दबाबसमेत देखिएको बताइएको छ । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह उम्मेदवार बनेको अछाम–२ र अभियन्ता सागर ढकाल उम्मेदवार रहेको डडेल्धुरामा उनी जसरी पनि उपस्थित हुने तयारीमा छन् । यसैगरी रुपन्देही-३ बाट चुनावी तयारी गरिरहेका सचिवालय सदस्य सन्तोष गिरीको क्षेत्रमा पनि बालेन पुग्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
स्थानीय तहबाट राष्ट्रिय राजनीतिमा बालेनको यो ‘ठूलो फड्को’ ले आगामी निर्वाचनको राजनीतिक समीकरणलाई कसरी बदल्छ भन्ने विषयले देशभर चासो बढाएको छ ।























Discussion about this post