काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भइसकेको उल्लेख गर्दै सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई एकताबद्ध भएर अघि बढ्न हार्दिक अपील गरेका छन्। सभापति थापाद्वारा जारी प्रेस विज्ञप्तिमा विशेष महाधिवेशन कुनै विवादको विषय नभएको र निर्वाचन आयोगले संविधान, प्रचलित कानून तथा पार्टी विधानअनुसार निर्णय गरेकोप्रति आभार व्यक्त गरिएको छ।
उक्त निर्णयलाई नेपाली कांग्रेसभित्र सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरिएको इमानदार प्रयासको साझा प्रतिफलको रूपमा व्याख्या गरिएको छ। “नेपाली कांग्रेस अब पार्टी नेताको चाहनाले मात्र होइन, आम सदस्यको चाहनाले चल्ने पार्टी बनेको छ,” विज्ञप्तिमा उल्लेख छ, “पार्टी आफ्नो मूल जरा, मूल्य-मान्यता र आदर्शमा फर्किएको छ।”
सभापति थापाले विशेष महाधिवेशनमा सहभागी तथा असहमत सबैलाई संयमित, जिम्मेवार र एकतावद्ध रहन आग्रह गर्दै यो प्रक्रिया जय-पराजयको नभई विधि र विधानको जित भएको स्पष्ट पारेका छन्। उनले कांग्रेस नवीन ऊर्जा, आत्मविश्वास र एकतासहित रूपान्तरणको दिशामा अघि बढिसकेको दाबी गरे। आसन्न निर्वाचनलाई लक्षित गर्दै सभापति थापाले अब कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्ने उल्लेख गरेका छन्। पार्टीका पूर्व सभापति शेरबहादुर देउवासहित विभिन्न तहमा रहेका सबै नेताहरूले यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा स्वीकार गर्दै पूर्ण साथ दिने विश्वास समेत उनले व्यक्त गरेका छन्।
“आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन,” विज्ञप्तिमा भनिएको छ, “जिम्मेवारी फरक हुन सक्छ, तर भुइँ तहका सदस्य र केन्द्रीय सभापतिको हैसियत समान हुनेछ।” नेपाली कांग्रेस आम नेपाली जनताको सार्वजनिक पुँजी भएको उल्लेख गर्दै सभापति थापाले देशभित्र र विदेशमा रहेका लाखौं शुभेच्छुकप्रति पार्टी बदलिएको र अझ बदलिँदै जाने विश्वास दिलाएका छन्। अब कांग्रेसले मूल्य र सिद्धान्त विपरीत कुनै सम्झौता नगर्ने र सत्ताका लागि अप्राकृतिक गठबन्धन गर्ने अभ्यास अन्त्य हुने स्पष्ट सन्देश पनि विज्ञप्तिमा दिइएको छ।
अन्त्यमा सभापति थापाले लोकतन्त्र र जनअधिकारका लागि बलिदान दिने सम्पूर्ण शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका अग्रजप्रति सम्मान व्यक्त गरेका छन्। साथै समुन्नत नेपाल निर्माणको यात्रामा नवयुवा लगायत सम्पूर्ण नेपाली जनतालाई सहभागी हुन पुनः हार्दिक अपील गरेका छन्।




















Discussion about this post