कञ्चनपुर-१ मा एमालेको भरोसा पुनः तारालामा तामाङमाथि, गठबन्धन पराजित गर्ने बलियो उम्मेदवारको रूपमा टिकट

कञ्चनपुर । फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेले अनुभवी नेता तारालामा तामाङलाई आधिकारिक टिकट दिएको छ।

यसअघि एमालेले केन्द्रीय सदस्य तथा महिला नेत्री कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको भए पनि अन्ततः पार्टीले रणनीतिक पुनर्विचार गर्दै तामाङमै भरोसा गरेको हो।

पार्टी स्रोतका अनुसार अघिल्लो कार्यकाल जेनजी आन्दोलनका कारण खारेज भई पुनः निर्वाचन हुन लागेको सन्दर्भमा तामाङबाहेक अन्यलाई टिकट दिनु पार्टीका लागि जोखिमपूर्ण हुने निष्कर्ष निकालिएको थियो। गठबन्धनलाई पराजित गर्न सक्ने बलियो र जित सुनिश्चित गर्ने उम्मेदवारको रूपमा तामाङलाई पुनः अघि सारिएको स्रोतको भनाइ छ।

तारालामा तामाङ कम्युनिस्ट आन्दोलनमा बोहरा जन्मिनुभन्दा पहिलेदेखि नै सक्रिय, होनहार र प्रतिबद्ध नेताका रूपमा परिचित छन्। लामो राजनीतिक यात्राका कारण उनी जनतामाझ लोकप्रिय मात्र होइन, भरोसायोग्य नेता मानिन्छन्। स्थानीय तहदेखि केन्द्रसम्मको राजनीतिक अनुभवले उनलाई पुनः निर्वाचनमा एमालेको सबल शक्ति बनाएको विश्लेषण गरिएको छ।

कमला बोहरा यसअघि बेलौरी नगरपालिकाको मेयरमा पराजित भए पनि पछिल्लो समय एमालेकी अब्बल केन्द्रीय सदस्यका रूपमा स्थापित छिन्। पार्टीले उनको भूमिकालाई सम्मान गर्दै संगठन सुदृढीकरणमा सक्रिय बनाउने संकेत पनि दिएको छ।

यसअघि सम्पन्न निर्वाचनमा तामाङले बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार बिना मगरलाई ५ हजार ५ सय ४२ मतको फराकिलो अन्तरले पराजित गरेका थिए। तामाङले २४ हजार ८९२ मत प्राप्त गर्दा मगरले १९ हजार ३४४ मत ल्याएकी थिइन्।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाले ८ हजार ६५९, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीबहादुर शाहीले ३ हजार ५३० र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज जोशीले १ हजार ९०६ मत प्राप्त गरेका थिए।

यही तथ्यांक र जनआधारलाई आधार मानेर एमालेले गठबन्धनलाई पुनः पराजित गर्ने बलियो उम्मेदवारका रूपमा तारालामा तामाङलाई अघि सारेको पार्टी स्रोतको बुझाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित