कञ्चनपुर । नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेशभर एक्ली महिला प्रतिनिधिसभा उम्मेदवारका रूपमा अघि सारिए पनि अन्तिम समयमा टिकट खोसिएकी नेतृ कमला बोहराले पार्टी, संगठन र उम्मेदवारप्रतिको निष्ठा सार्वजनिक रूपमा व्यक्त गर्दै एमालेका आधिकारिक उम्मेदवार तारा लामा तामाङलाई पूर्ण समर्थन जनाएकी छन्।
आफ्नो सामाजिक सञ्जालमार्फत भावुक स्टाटस लेख्दै बोहराले देश तथा विदेशमा रहँदै आफ्नो उम्मेदवारी र टिकटको विषयमा चासो र चिन्ता व्यक्त गर्ने सम्पूर्ण शुभेच्छुक, आफन्तजन र पार्टीका कमरेडहरूप्रति हार्दिक आभार प्रकट गरेकी छन्।
आफू नेकपा एमालेको एक योद्धा भएको उल्लेख गर्दै बोहराले जीवनभर पार्टी र जनताको सेवामा समर्पित रहने सपथसहित निरन्तर राजनीतिक मैदानमा रहने स्पष्ट सन्देश दिएकी छन्।
पार्टीले सुदूरपश्चिमभर एक जना महिला उम्मेदवारका रूपमा आफूलाई अघि सारेकोमा गर्व व्यक्त गर्दै उनले उक्त निर्णय टिकाउन नसक्नुमा पार्टीको के कमजोरी वा बाध्यता रह्यो भन्ने विषयमा आफू अनविज्ञ रहेको उल्लेख गरेकी छन्। साथै, महिला भएकै कारण अवसर पाउनुपर्छ भन्ने मान्यतामा आफू कहिल्यै नअडिएको र सधैं आफ्नो क्षमता र क्रियाशीलतामै विश्वास गरेको उनको भनाइ छ।
“पार्टीले गरेको निर्णय पार्टीको हित र समग्र कञ्चनपुरको हितमा भए शुली चढ्न पनि पछि पर्ने छैन,” उनले लेखेकी छन्, “यो समय विभाजन र बैमनस्यताको होइन, एकता र सद्भावको हो।”
बोहराले सबै नेता कार्यकर्ता र शुभेच्छुकलाई नेकपा एमालेका सूर्यध्वजा बाहक उम्मेदवार तारा लामा तामाङसहित देशभरका सबै एमाले उम्मेदवारलाई विजयी बनाउने अभियानमा जुट्न आह्वान गरेकी छन्।
“तपाईंहरूको विश्वास र माया नै मेरो पुँजी हो, म सदा सालिसालझैँ तपाईंहरूसँगै उभिनेछु,” भन्ने उनको प्रतिबद्धताले पार्टीपंक्तिमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
टिकट खोसिएपछिको पीडाभन्दा माथि उठेर पार्टी एकता र विजयलाई प्राथमिकता दिएको भन्दै बोहराको इमान्दारिताको शुभेच्छुक र कार्यकर्ताहरूले खुलेर प्रशंसा गरेका छन्।
बोहराको यो स्पष्ट र दृढ अडानले कञ्चनपुरसहित देशभर एमाले उम्मेदवारहरू, विशेषतः तारा लामा तामाङलाई थप नैतिक बल र जनसमर्थन मिल्ने अपेक्षा गरिएको छ।
























Discussion about this post