गगन थापा नेतृत्वको काँग्रेसमा कञ्चनपुरकी सन्तोषी साउद (ऐरी) : एक्ली महिला केन्द्रीय सदस्य, जिल्लाको गौरव

कञ्चनपुर । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वमा चयन भएको केन्द्रीय समितिमा कञ्चनपुरबाट एक्ली महिला नेतृका रूपमा सन्तोषी साउद (ऐरी) केन्द्रीय सदस्यमा चयन भएकी छन् ।

सुदूरपश्चिमको राजनीतिक वृत्तमा यो चयनलाई महिला नेतृत्वको सशक्त उपस्थितिका रूपमा लिइएको छ ।
भीमदत्त नगरपालिकाकी पूर्व जनप्रतिनिधिसमेत रहेकी साउद करिब १२ वर्षदेखि नेपाली काँग्रेसको संगठन निर्माणमा निरन्तर सक्रिय रहँदै आएकी छन् ।

युवा पुस्ताको प्रतिनिधित्व गर्दै पार्टी र समाज दुबै क्षेत्रमा क्रियाशील साउदको केन्द्रीय समितिमा प्रवेशले कञ्चनपुरमा महिला नेतृत्वलाई थप उचाइ दिएको काँग्रेसजनहरूको बुझाइ छ ।

सामाजिक सेवामा समेत अग्रसर साउद पार्टीको विशेष महाधिवेशनमार्फत केन्द्रीय सदस्यको जिम्मेवारीमा पुग्नु केवल व्यक्तिगत उपलब्धि मात्र नभई कञ्चनपुरका महिलाहरूको सामूहिक पहिचान र सम्मान भएको स्थानीय नेताहरू बताउँछन् ।

यसअघि काँग्रेस कञ्चनपुरबाट १४औँ महाधिवेशनमा रमेश लेखक, एनपी साउद र यज्ञराज जोशी केन्द्रीय सदस्य रहेका थिए ।

महाधिवेशन प्रतिनिधिसमेत रहेकी साउदले केन्द्रीय सदस्यको जिम्मेवारी पाएसँगै पार्टी पंक्तिबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई आधिकारिकता दिएपछि प्रतिक्रिया दिँदै साउदले पार्टीलाई जिल्लामा एकताबद्ध बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

“मलाई दिइएको जिम्मेवारी निर्भिकताका साथ पूरा गर्नेछु । पार्टीको हितसँगै जनताको पक्षमा दृढतापूर्वक उभिनेछु,” साउदले भनिन् ।
कञ्चनपुरबाट एक्ली महिला केन्द्रीय सदस्य बनेकी सन्तोषी साउदको यो उपलब्धिलाई महिला सशक्तीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । उनकाे उपस्थितिले पार्टीभित्र मात्रै होइन, जिल्लाको राजनीतिक संस्कृतिमा समेत सकारात्मक सन्देश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित