पद भए वा नभए पनि जनताको सेवामा समर्पित रहनेछु : तारालामा तामाङ

कञ्चनपुर । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका तारालामा तामाङले पदमा रहे वा नरहे पनि जनताको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै तामाङले आफ्नो उम्मेदवारी अपुरा कामहरू पूरा गर्ने दृढ संकल्पका साथ अघि बढाइएको बताए। “जनताले दिएको जिम्मेवारीलाई अधूरो छोड्न सक्दिनँ, बाँकी काम पूरा गर्नकै लागि फेरि मैदानमा उत्रिएको हुँ,” उनले भने।

यसअघि सम्पन्न निर्वाचनमा तामाङले वाम–लोकतान्त्रिक गठबन्धनलाई परास्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। उनले माओवादी केन्द्रकी उम्मेदवार बिना मगरलाई ५ हजार ५ सय ४२ मतको फराकिलो अन्तरले पराजित गरेका थिए।

उक्त निर्वाचनमा तामाङले २४ हजार ८ सय ९२ मत प्राप्त गर्दा मगरले १९ हजार ३ सय ४४ मत ल्याएकी थिइन्। त्यस्तै नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाले ८ हजार ६ सय ५९, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीबहादुर शाहीले ३ हजार ५ सय ३० र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज जोशीले १ हजार ९ सय ६ मत प्राप्त गरेका थिए।

उम्मेदवारी दर्तापछि तामाङले क्षेत्रका विकास, जनजीविका र जनताको अधिकारका विषयमा आफू निरन्तर संघर्षरत रहने बताउँदै पुनः जनताको विश्वास जित्ने दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित