कञ्चनपुर । युवापुस्तादेखि आम नागरिकसम्म फैलिँदै गएको असन्तुष्टि, आक्रोश र परिवर्तनको चाहनालाई संगठित शक्ति बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशव्यापी रूपमा अघि बढिरहेको बेला कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट युवा नेता जनक सिंह धामीको उम्मेदवारीले कञ्चनपुरको राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरेको छ ।
पुराना दलको असफलता, जड कार्यशैली र जनताको पक्षमा काम गर्न नसक्ने अक्षमताकै कारण आज देशभर ‘जेनजी विद्रोह’ देखिएको विश्लेषकहरू बताउँछन् । संसद विघटनदेखि सत्ताको खेलसम्म जनमतको अवमूल्यन भइरहेकै अवस्थामा भएको यो निर्वाचन परिवर्तन चाहने शक्तिहरूको एकीकृत आवाज बनेको छ । यही परिवर्तनको प्रतीक बनेर बालेन्द्र शाहजस्ता लोकप्रिय पात्रहरू उदाएका छन् भने रास्वपाले देशभर नयाँ अनुहारहरू अघि सार्दै पुरानो राजनीतिलाई सीधा चुनौती दिएको छ ।
यसै सन्दर्भमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुर–१ बाट रास्वपाले जनक सिंह धामीलाई जनप्रिय उम्मेदवारका रूपमा सर्वसम्मत अघि सारेको छ । पार्टीले “जनक धामीको विजय भनेकै देशको विजय हो” भन्दै एकपटक घण्टी बजाएर देश हेर्न आम नागरिकलाई अपिल गरेको छ ।
रास्वपाको अभियान तथा प्रचार-प्रसार विभागका केन्द्रीय सदस्यसमेत रहेका धामी बेलडाँडी गाउँपालिका-४ का स्थायी बासिन्दा हुन् । सुदूरपश्चिममा पार्टी संगठन निर्माणदेखि जनसरोकारका मुद्दामा अग्रपंक्तिमा रहेर काम गर्दै आएका उनी लामो राजनीतिक संघर्ष र अनुभव बोकेका नेता हुन् । सरल स्वभाव, इमान्दारिता र सामाजिक सेवाप्रतिको प्रतिबद्धताका कारण उनी जिल्लाभर लोकप्रिय छन् ।
बाल्यकालदेखि नै समाजसेवामा सक्रिय धामी २०४५ सालमै किशोर अवस्थाबाट राजनीतिमा होमिएका थिए । २०४६ सालको जनआन्दोलनमा अग्रपंक्तिमा रहेर संघर्ष गर्दा उनी जेलसमेत परे । जेलनेल, आन्दोलन र सडक संघर्षबाट खारिएका धामी जनताको दुःख-सख नजिकबाट बुझ्ने नेता मानिन्छन् ।
पार्टीभित्र उनको योगदानको उचित मूल्यांकन गर्दै कञ्चनपुर-१ बाट सर्वसम्मत रूपमा एकल सिफारिस भई मनोनयन दर्ता भइसकेपछि उनी चुनावी मैदानमा होमिएका हुन् । धामीले क्षेत्रको भूगोल र जनताको वास्तविक समस्यामा दृढ भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले भने, “जनता सार्वभौम हुन् । पुराना पार्टीले अहिलेसम्म जनताको जीवनमा के परिवर्तन गरे ? पद, पैसा र भ्रष्टाचारमा लिप्त नेताहरूबाट अब देश चल्दैन । अब जनताले आफैँ सही फैसला गर्ने समय आएको छ ।”
आरक्ष पीडित, सुकुम्बासी समस्या, दोदा नदी, सिमसार, बन्यजन्तु आतंक, सीमा समस्या, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र तटबन्धनजस्ता कञ्चनपुर-१ का दीर्घकालीन समस्याको समाधान आफ्नो प्राथमिकता हुने उनले बताए ।
धामी २०४२ सालदेखि नेपाली काँग्रेसमा सक्रिय रहेर नेपाल विद्यार्थी संघको इकाई अध्यक्ष, क्षेत्रीय सभापति, जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधिसम्मको जिम्मेवारी निर्वाह गरिसकेका अनुभवी नेता हुन् । तर काँग्रेस पार्टी परम्परागत सोच, गुटबन्दी, भ्रष्टाचार र यथास्थितिवादमा फसेको निष्कर्षसहित उनले पार्टी परित्याग गरी रास्वपाबाट नयाँ यात्रा सुरु गरेका हुन् ।
हुलाकी सडक निर्माणमा भएको चरम लापरवाहीविरुद्ध दैजीदेखि डोकेबजारसम्म ६५ किलोमिटर पैदल यात्राको नेतृत्व गरेर सरकारलाई काम गर्न बाध्य बनाउने धामीका सामाजिक संघर्षका सयौं उदाहरणहरू कञ्चनपुरमा अझै ताजा छन् ।
समाज सेवा, स्वच्छ राजनितिक अनुभवले पार्टीभित्र र बाहिर लोकप्रिय धामी बदलिँदो राजनीतिक चेतनाका प्रतिनिधि पात्रका रूपमा स्थापित हुँदै गएका छन् । कञ्चनपुर-१ मा उनको उम्मेदवारी केवल चुनावी प्रतिस्पर्धा मात्र नभई पुरानो राजनीतिविरुद्ध जनताको जनमत संग्रहका रूपमा हेरिएको छ ।























Discussion about this post