४० वर्षे त्यागको प्रतिफल : कञ्चनपुर-३ मा काँग्रेसका बलिया उम्मेदवार हरि प्रसाद बोहरा

कञ्चनपुर । चार दशकभन्दा बढी समयदेखि नेपाली काँग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका काँग्रेस कञ्चनपुरका अनुभवी नेता हरि प्रसाद बोहरा पहिलो पटक प्रतिनिधिसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन् ।

स्वच्छ सामाजिक छवि, विवादरहित राजनीतिक यात्रा र संगठनप्रतिको अटुट निष्ठाका कारण बोहरा नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर-३ का बलिया उम्मेदवारका रूपमा हेरिएका छन् ।

किशोरावस्थादेखि नै काँग्रेसको सक्रिय राजनीतिमा होमिएका बोहराको ऊर्जाशील जीवन काँग्रेस आन्दोलनमै बितेको छ । पुख्र्यौली घर डडेल्धुरा भए पनि उनको परिवार करिब पाँच दशकअघि तराई कञ्चनपुर झरेको थियो ।

वि.सं. २०३६ सालको जनमत संग्रह आन्दोलनमा स्कुले विद्यार्थी हुँदाहुँदै पनि बोहरा सक्रिय रूपमा सहभागी भएका थिए । त्यतिबेला राजनीतिक चेतना प्रष्ट नहुँदै आन्दोलनमा सहभागी भएको आरोपमा पञ्चायती शासकद्वारा पक्राउसमेत परे । तर विद्यार्थी एकता बलियो हुने ठानेर तत्कालीन सरकारले उनलाई रिहा गरेको थियो ।
गाउँकै विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च अध्ययनका लागि भारतको नैनीताल पुगेका बोहरा त्यहाँ पनि नेपाल विद्यार्थी संघमा आबद्ध भई विद्यार्थी राजनीतिमा सक्रिय रहे । सानैदेखि दुःखी-पीडितको सेवामा लाग्नुपर्छ भन्ने भावना बोहरामा गहिरो थियो । यही भावनाले उनलाई अध्ययनसँगै विद्यार्थी आन्दोलनतर्फ डो¥यायो ।

स्नातक अध्ययनका लागि काठमाडौं पुगेपछि उनले क्याम्पस राजनीतिबाट नेवि संघको सदस्यता लिए । विदाको समयमा घर (कञ्चनपुर महेन्द्रनगर) आउँदा जननिर्वाचित प्रधानमन्त्री तथा काँग्रेसका संस्थापक बीपी कोइरालाको स्मृति दिवसमा सहभागिता र २०४२ सालमा पञ्चायत शासनविरुद्ध सुरु गरिएको सत्याग्रहमा संलग्न भएपछि उनी पूर्ण रूपमा राजनीतिमा समर्पित भए ।

२०३६ को जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६ सालको जनआन्दोलन हुँदै २०६२/०६३ को दोस्रो जनआन्दोलनसम्म प्रत्यक्ष सहभागी बोहराले हिरासत, कुटपिट जस्ता कठिनाइहरू भोगे पनि कहिल्यै राजनीतिक यात्राबाट विचलित भएनन् ।

अध्ययन पूरा गरेपछि २०४८ सालमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता लिएका बोहरा क्रमशः पार्टीको जिल्लास्तरीय नेतृत्वमा उक्लिए । १०औँ महाधिवेशनमा जिल्ला सदस्य, ११औँमा जिल्ला सहसचिव, १२औँमा उपसभापति हुँदै १३औँ महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भए ।

१४औँ महाधिवेशनमा क्षेत्र नम्बर–२ बाट महाधिवेशन प्रतिनिधि बनेका बोहरालाई तत्कालीन आन्तरिक राजनीतिमा पराजित गरिए पनि पार्टीप्रतिको निष्ठामा कमी आएन । २०७० देखि २०७९ सम्म पटक-पटक क्षेत्र र जिल्लाबाट सिफारिस भए पनि टिकट नपाउँदा पनि उनी कहिल्यै निराश बनेनन् । जसले टिकट पायो, त्यसलाई आफ्नै उम्मेदवार ठानेर जिताउन अहोरात्र खटिन्थे ।

२०४८ यताका अधिकांश निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर-३ मात्र होइन, सिंगो जिल्लामा काँग्रेसका उम्मेदवार जिताउन बोहराको भूमिका निर्णायक रहँदै आएको छ । २०४८ मा तारणीदत्त चटौतदेखि २०७९ सम्मका संघ, प्रदेश र स्थानीय तहका चुनावमा उनी काँग्रेसको ‘चुनावी खम्बा’ बने ।

जिल्ला सभापति रहँदा २०७४ सालको स्थानीय तह निर्वाचनमा दोधाराचाँदनी, भीमदत्त, शुक्लाफाँटा लगायतका पालिकामा काँग्रेसलाई उल्लेखनीय सफलता दिलाउन बोहराको नेतृत्वदायी भूमिका रह्यो । २०७९ सालको स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा समेत उनले अधिकांश उम्मेदवार जिताउन महत्त्वपूर्ण योगदान पुर्‍याए ।

चार दशक लामो राजनीतिक तथा सामाजिक जीवनमा कुनै पनि सार्वजनिक वा लाभको पद नलिएका ५९ वर्षीय बोहराको उम्मेदवारीलाई पार्टीभित्र मात्र होइन, आम नागरिकले पनि आशाका रूपमा हेरेका छन् ।

विवादरहित, त्यागी र निष्ठावान् नेताका रूपमा परिचित बोहराको उम्मेदवारीसँगै काँग्रेस कार्यकर्ता र शुभेच्छुकहरूमा उत्साह थपिएको छ ।
४० वर्षसम्म अरूलाई जिताउन ‘सतिसालझैँ’ उभिएका बोहरा अहिले आफैँ चुनावी मैदानमा उत्रिँदा उनलाई जिताउन पार्टी नेतृत्व र कार्यकर्ता कति सक्रिय हुन्छन् भन्ने चासोसमेत आम नागरिकमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित