केही राजनीतिक दलका नेता-कार्यकर्ताले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता-कार्यकर्तामाथि विभिन्न आरोप र उपनाम प्रयोग गरिरहँदा पनि रास्वपा र बालेनप्रतिको जनआकर्षण भने दिनप्रतिदिन बढ्दै गएको देखिन्छ।
आगामी निर्वाचनलाई केन्द्रमा राख्दै रास्वपामा देशलाई नयाँ दिशामा लैजान सक्ने सोच बोकेका सामाजिक अभियन्ता, बुद्धिजीवी, कलमकर्मी, स्वास्थ्यकर्मी, शिक्षक, अनुसन्धानकर्ता तथा विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरू एकढिक्का हुँदै वैकल्पिक राजनीतिक शक्तिका रूपमा उभिन थालेपछि रास्वपाको प्रभाव झनै विस्तार भएको छ। यही बढ्दो लोकप्रियताबाट असहज बनेका केही पुराना दलका नेता-कार्यकर्ताले रास्वपा र बालेनलाई लक्षित गर्दै आलोचनात्मक टिप्पणी र आरोप लगाइरहे पनि त्यसले उल्टै पार्टीप्रतिको आकर्षण बढाइरहेको विश्लेषकहरू बताउँछन्।
देश आज निर्णायक मोडमा उभिएको छ। दशकौँदेखि दोहोरिँदै आएका उही अनुहार, उही शैली र असफल अभ्यासबाट आजित जनता अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ राजनीतिक संस्कारको खोजीमा छन्। यही जनआकांक्षाको केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी देखिन थालेको छ।
रास्वपा कुनै परम्परागत सत्ता संरचनाबाट जन्मिएको पार्टी नभई जनताको निराशा, आक्रोश र परिवर्तनको चाहनाबाट उठेको आन्दोलनका रूपमा चित्रित हुँदै आएको छ। सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र भ्रष्टाचार नियन्त्रणजस्ता विषय पुराना दलका भाषणमै सीमित हुँदा त्यसको विकल्पका रूपमा रास्वपा अघि आएको समर्थकहरूको बुझाइ छ।
रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ लाई समर्थकहरूले केवल चुनावी प्रतीक मात्र नभई गलत प्रवृत्तिविरुद्धको चेतावनी, सत्तालाई जवाफदेही बनाउने संकेत र नागरिक जागरणको प्रतीकका रूपमा व्याख्या गर्न थालेका छन्। उनीहरूका अनुसार घण्टी बज्नु भनेको पुरानो राजनीतिलाई ‘बस्’ भन्नु हो।
यसअघि कुनै पनि दलसँग नजोडिएका धेरै नागरिकहरू अहिले खुलेर ‘देश घण्टीमय बनाउने’ अभियानमा सहभागी हुन थालेका छन्। “हामी राजनीतिज्ञ होइनौं, तर पुराना दलका घिनलाग्दा प्रवृत्तिविरुद्ध गोलबन्द भएका हौं,” उनीहरूको भनाइ छ। परिवर्तन चाहने हो भने पुरानै शैली दोहोर्याएर सम्भव नहुने र त्यसका लागि घण्टी बज्नैपर्ने उनीहरूको तर्क छ।
उनीहरू भन्छन्, पुराना दलको पतन उनीहरूकै कर्मको परिणाम हो र त्यसको उत्तर जनताले मतदानमार्फत दिनेछन्। यही विश्वास, आक्रोश र आशाको मिश्रणले रास्वपा र बालेनप्रतिको आकर्षण दिनानुदिन बढ्दै गएको देखिन्छ।























Discussion about this post