बेलडाँडी । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि १५ राजनीतिक दल र ४ स्वतन्त्र गरी जम्मा १९ जना उम्मेदवार मैदानमा छन्। तर यति धेरै उम्मेदवारमध्ये दलबाट महिला उम्मेदवार भने जम्मा दुई जना मात्रै रहेका छन्, जसले यहाँको राजनीति अझै पनि पुरुषकेन्द्रित रहेको स्पष्ट संकेत गर्दछ।
मुख्य राजनीतिक दल मानिने नेकपा एमाले र नेपाली कांग्रेसले यसपटक पनि महिला उम्मेदवार अघि सार्न सकेका छैनन्। महिला सशक्तीकरणका ठूला-ठूला भाषण गर्ने यी दलहरूले व्यवहारमा भने महिलालाई अवसर दिन नसकेको मतदाताहरूको टिप्पणी छ।
नेकपा एमालेले सुरुमा २ महिला र १ पुरुषसहित उम्मेदवारको आन्तरिक सिफारिस गरे पनि महिला उम्मेदवार कमला बोहराको टिकट अन्तिम समयमा खोसिएर पुरुष उम्मेदवार तारालामा तामाङलाई दिइयो। यस घटनाले एमालेभित्र महिलाप्रतिको दृष्टिकोण कति सतही छ भन्ने प्रश्न उठाएको छ।
नेपाली कांग्रेसको अवस्था झनै निराशाजनक छ। इतिहासमै कञ्चनपुर-१ बाट कांग्रेसले महिला उम्मेदवार दिन नसकेको तथ्यले महिला मतदातामाथि भएको उपेक्षा प्रष्ट देखिन्छ।
यी सबैबीच १५ दलमध्ये महिला उम्मेदवार दिने अर्को दल आम जनता पार्टी भए पनि संगठन र प्रभावशून्य अवस्थाका कारण त्यसलाई मतदाताले खासै चासो दिएका छैनन्।
यस्तो परिस्थितिमा नेपाली कम्युनिष्ट पार्टीले महिला नेतृत्वप्रति स्पष्ट प्रतिबद्धता जनाउँदै संघर्षबाट खारिएर आएकी नेत्री विना मगरलाई उम्मेदवार बनाएको छ। यो निर्णयलाई महिला सम्मान र राजनीतिक साहसको उदाहरणका रूपमा हेरिएको छ।
विना मगर यसअघि पनि यही क्षेत्रबाट उम्मेदवार बनेकी थिइन्। प्रतिनिधिसभाबाट मन्त्री बनेकी उनले कञ्चनपुरले पहिलोपटक महिला मन्त्री पाउने इतिहास रचेकी थिइन्। मन्त्रीका रूपमा रहँदा उनले यस क्षेत्रको खानेपानी, भौतिक पूर्वाधार र विकास योजनामा उल्लेखनीय बजेट भित्र्याएर ठोस काम गरेको स्थानीयहरू सम्झन्छन्। उनको कार्यकालमा कञ्चनपुरको विकासले नयाँ गति लिएको इतिहास साक्षी छ।
राजनीति भनेकै संघर्ष र सेवा हो भन्ने मान्यतालाई जीवनमा उतार्दै विना मगरले कम उमेरमै कठोर संघर्षका पहाड पार गरेकी छन्। पुनर्वास, कञ्चनपुरमा वि.सं. २०४० मंसिर २२ गते मजदुर परिवारमा जन्मेकी उनले सामाजिक विभेद र शोषणलाई नजिकबाट भोगेकी छिन्।
१० वर्षे जनयुद्धमा सहभागी हुँदा उनले २७ महिना नारकीय जेल जीवन बिताउनुपर्यो। २०६० सालमा तत्कालीन शाही नेपाली सेनाद्वारा पक्राउ परेकी उनलाई भैरवनाथ गणमा चरम यातना दिइयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको दबाबका कारण उनी जीवन्त रहन सफल भइन्।
विद्यार्थी आन्दोलन हुँदै पार्टी राजनीतिमा प्रवेश गरेकी विना मगर हाल पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर आफ्नै जन्मभूमि कञ्चनपुरबाट निरन्तर राजनीति गरिरहेकी छन्। देशभरका नागरिकको खानेपानी समस्या समाधानका लागि राष्ट्रिय रुटम्याप बनाउने पहिलो महिला नेत्रीका रूपमा समेत उनी परिचित छन्।
जब ठूला दलहरूले महिलालाई पाखा लगाइरहेका छन्, त्यही बेला नेपाली कम्युनिष्ट पार्टीले महिलाको सम्मान गर्दै विना मगरलाई उम्मेदवार बनाएको छ। एमालेमा देखिन लागेको महिला प्रतिनिधित्व अन्तिम समयमा खोसिनु मतदाताका नजरमा महिलामाथिको अपमानका रूपमा लिइएको छ।
अब प्रश्न महिला मतदातामाझ छ, यो सम्मान हो कि अपमान ? यसको जवाफ फागुन २१ गतेको मतपेटिकाबाट आउनेछ।























Discussion about this post