कञ्चनपुर-१ मा चुनावी तापक्रम उच्च : चिया चोकदेखि खेतबारीसम्म एउटै प्रश्न, कसले मार्ला बाजी ?

कञ्चनपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कञ्चनपुर क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ । बिहानको चिया चोक होस् वा दिउँसोको खेतबारी, सबैतिर एउटै जिज्ञासा सुनिन्छ, “यसपालि कसले जित्ला ?”

यस क्षेत्रमा स्वतन्त्रसहित १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तर स्थानीय राजनीतिक वृत्तमा मुख्य प्रतिस्पर्धा भने चार दलबीच हुने आँकलन गरिएको छ, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी ।

रास्वपाले २०४६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका र स्वच्छ छविका रूपमा परिचित जनक सिंह धामीलाई अघि सारेको छ । ‘जेनजी पुस्ता’को असन्तुष्टि र वैकल्पिक शक्तिको खोजीलाई आफ्नो पक्षमा रूपान्तरण गर्दै चुनावी मैदानमा रास्वपा होमिएको देखिन्छ ।

नेपाली काँग्रेसले दुई कार्यकाल क्षेत्रीय सभापति सम्हालेका पुर्व विद्यार्थी नेता गोपी प्रसाद उपाध्यायलाई उम्मेदवार बनाएको छ । संगठनको बल र परम्परागत मत आधारमा काँग्रेस विश्वस्त देखिन्छ ।

एमालेले प्रदेशका पूर्व अर्थमन्त्री तथा निवर्तमान सांसद तारालामा तामाङलाई पुनः मैदानमा उतारेको छ । विकास निर्माणका योजनालाई निरन्तरता दिने एजेण्डा एमालेको प्राथमिकतामा छ ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले पूर्व खानेपानी मन्त्री विना मगरलाई उम्मेदवार बनाएको छ । अनुभव र महिला नेतृत्वको सशक्त उपस्थिति यसपटकको चुनावी बहसमा उनको पक्षमा प्रस्तुत गरिएको छ ।

कञ्चनपुर-१ को निर्वाचन इतिहास हेर्दा मतदाताले समय–समयमा विकल्प परिवर्तन गर्दै आएका छन् । २०४८ मा काँग्रेस, २०५१ मा एमाले, २०५६ मा पुनः काँग्रेस, २०६४ मा तत्कालीन माओवादी, २०७० मा काँग्रेस, २०७४ मा माओवादी केन्द्र र २०७९ मा एमाले विजयी भएका थिए । यसरी हेर्दा मतदाता कुनै एक दलमा स्थायी रूपमा अडिएका छैनन् । यसपटक भने “पुराना दलप्रति वितृष्णा” र “नयाँ विकल्पको खोजी” भन्ने आवाज बलियो बन्दै गएको स्थानीयहरू बताउँछन् ।

स्थानीय तहमा सुन्न पाइने आवाज भने फरक छ । “व्यक्ति मात्र नयाँ होइन, पार्टी समेत नयाँ र कार्यशैली पनि बदलिनुपर्छ,” भन्ने धारणा बलियो हुँदै गएको छ । अधिकांस मतदाता पुराना दलप्रति निराश देखिन्छन् भने केहीले अनुभवी नेतृत्व नै सुरक्षित विकल्प भएको तर्क गर्छन् ।

यसपटक कञ्चनपुर-१ मा निरन्तरता र परिवर्तनबीचको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । अन्तिम फैसला भने मतपेटिकाले नै गर्नेछ, तर अहिलेलाई चिया चोक र खेतबारी दुवै ठाउँमा चुनावी बहस चरम उत्कर्षमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित