कञ्चनपुर । कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा यसपटकको प्रतिनिधिसभा चुनाव असाधारण रूपमा चासोको केन्द्र बनेको छ। फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीनै क्षेत्रमा पूर्व पत्रकारहरूलाई उम्मेदवार बनाएपछि चुनावी माहोल झनै रोचक र उत्साहपूर्ण बनेको हो।
पञ्चायतकालदेखि वर्तमानसम्म पत्रकारितामार्फत समाज रूपान्तरणको आवाज उठाउँदै आएका व्यक्तिहरू अब प्रत्यक्ष राजनीतिक मैदानमा उत्रिएपछि “परिवर्तन अब व्यवहारमै” भन्ने सन्देश मतदातामाझ बलियो बन्दै गएको देखिन्छ।
कञ्चनपुर क्षेत्र नं. १ बाट रास्वपाका उम्मेदवार जनक सिंह धामी पञ्चायतकालका साहसी पत्रकारका रूपमा परिचित छन्। कठिन राजनीतिक परिवेशमा कञ्चनपुरमै रहेर पत्रकारिता गरेका धामी २०४६ सालको जनआन्दोलनमा विद्यार्थी राजनीतिमार्फत अग्रपंक्तिमा उभिएका थिए।
कलमको टुप्पोबाट परिवर्तनको पक्षमा वकालत गर्दै आएका धामी अहिले मतपत्रमार्फत परिवर्तन संस्थागत गर्ने लक्ष्यसहित चुनावी मैदानमा छन्।
यस क्षेत्रमा १ लाख १ हजार ७२४ मतदाता रहेका छन्। धामीसँगै नेपाली कांग्रेसका गोपी प्रसाद उपाध्याय, नेकपा एमालेका तारालामा तामाङ, नेपाली कम्युनिष्ट पाटीकी विना मगर तथा चार स्वतन्त्रसहित १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
कुल १ लाख ९ हजार ५७४ मतदाता रहेको क्षेत्र नं. २ मा रास्वपाबाट दीपक बोहरा उम्मेदवार छन्। डडेल्धुरादेखि काठमाडौंसम्म पत्रकारिता गर्दै सामाजिक सवालहरू उठाउँदै आएका बोहराले पारदर्शिता, जवाफदेहिता र सुशासनलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
यहाँ नेपाली कांग्रेसका नारायणप्रकाश साउद, नेकपा एमालेका बचनबहादुर सिंह, नेपाली कम्युनिष्ट पाटीका माधव पन्त लगायत स्वतन्त्रसहित १९ जना उम्मेदवार मैदानमा छन्।
१ लाख ३ हजार ८७ मतदाता रहेको क्षेत्र नं. ३ मा रास्वपाबाट ज्ञानेन्द्र महता उम्मेदवार छन्। महेन्द्रनगरबाट पत्रकारिता सुरु गरेका महताले स्थानीय मुद्दा, युवा सहभागिता र नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै अभियान अघि बढाएका छन्।
यस क्षेत्रमा नेपाली कांग्रेसका हरी बोहरा, नेकपा एमालेका दीपकप्रकाश भट्ट, नेपाली कम्युनिष्ट पाटीका मानबहादुर सुनारसहित स्वतन्त्र गरी १७ जना उम्मेदवार चुनावी मैदानमा छन्।
देशव्यापी रूपमा देखिएको “जेनजी आन्दोलन” को भावना अनुरूप कञ्चनपुरमा पनि पुराना दलप्रति वितृष्णा र नयाँ विकल्पप्रतिको आकर्षण स्पष्ट देखिएको छ। विभिन्न क्षेत्रमा सामाजिक योगदान दिएका पूर्व पत्रकारहरू रास्वपाबाट उम्मेदवार बनेपछि मतदाता उत्साहित बनेका छन्।
स्वतन्त्रसहित तीनै क्षेत्रमा गरी ४८ जना उम्मेदवार मैदानमा रहे पनि, रास्वपाबाट पूर्व पत्रकारहरूको सशक्त उपस्थिति चुनावी बहसको केन्द्रमा छ।
कलमबाट सत्य लेख्नेहरू अब संसद्मा आवाज उठाउने संकल्पसहित अघि बढेका छन्। कञ्चनपुरको चुनाव यसपटक केवल प्रतिस्पर्धा मात्र होइन, नयाँ सोच, नयाँ पुस्ता र नयाँ राजनीतिक संस्कारको परीक्षणका रूपमा हेरिएको छ। परिवर्तनको अपेक्षाले भरिएको जनमतले अब कुन दिशातर्फ मोड लिन्छ, त्यसको निर्णय मतपेटिकाले गर्नेछ।





















Discussion about this post