बेलडाँडी । बेलडाँडी गाउँपालिकाले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न तथा प्रचलित कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न लक्षित गर्दै सरोकारवालाको जानकारीका लागि महत्त्वपूर्ण सूचना जारी गरेको छ।
गाउँपालिकाले सार्वजनिक स्रोत-साधनको सदुपयोग र अनावश्यक खर्च नियन्त्रणलाई मुख्य उद्देश्य बनाएको जनाएको छ।
जारी सूचनाअनुसार, ऐन बमोजिम गठित समितिको बैठक, गाउँकार्यपालिका तथा गाउँसभाका बैठक र कार्यालयका आधिकारिक कार्यक्रम बाहेक अन्य अवस्थामा जनप्रतिनिधि तथा कर्मचारीका लागि अतिथि सत्कार, खाना तथा खाजा शीर्षकमा हुने कुनै पनि खर्च भुक्तानी नगरिने स्पष्ट पारिएको छ।
यस्तै, कार्यालय प्रयोजनका नाममा गरिने अनावश्यक आतिथ्य, स्वागत तथा बैठकहरूमा खाजा/खाना शीर्षकमा रकम माग वा भुक्तानी नहुने पनि सूचनामा उल्लेख गरिएको छ।
गाउँपालिकाले यसअघि स्वीकृत नभएका तथा प्रचलित कानुन र परिपत्र विपरीतका खर्च दाबीहरू पनि भुक्तानी नगरिने चेतावनी दिएको छ। सूचनाको पूर्ण पालना गराउने जिम्मेवारी सम्बन्धित शाखा प्रमुख तथा आर्थिक प्रशासन शाखालाई तोकिएको छ।
प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण विकद्वारा जारी उक्त सूचनाप्रति गाउँपालिका अध्यक्ष हरिश्चन्द्र रानाले स्वागतयोग्य निर्णय भएको प्रतिक्रिया दिएका छन्। उनले सार्वजनिक धनको संरक्षण र अनावश्यक खर्च नियन्त्रणका लागि यस्तो कदम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
स्थानीय तहमा बढ्दो अनावश्यक खर्चप्रति जनस्तरबाट उठिरहेका प्रश्नका बीच गाउँपालिकाले लिएको यो निर्णयले वित्तीय अनुशासन मजबुत बनाउने, पारदर्शिता बढाउने र विकासका प्राथमिक क्षेत्रमा स्रोत केन्द्रित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
सरोकारवालाहरूले पनि सार्वजनिक स्रोतको जिम्मेवार प्रयोगमा सहयोग गर्नुपर्ने गाउँपालिकाले आग्रह गरेको छ।






















Discussion about this post