बेलडाँडीमा एमालेको कदममाथि प्रश्नै-प्रश्न, रास्वपाको नाम जोडिँदा विवाद चर्कियो

बेलडाँडी । बेलडाँडी-४ स्थित नेकपा (एमाले) को पार्टी कार्यालयमा राखिएको सूर्य चिन्ह अंकित झण्डा च्यातिएको घटनापछि पाँच जना जेनजी युवा पक्राउ परेपछि स्थानीय राजनीतिक माहोल तातेको छ । घटनालाई लिएर एमालेको भूमिकामाथि विभिन्न कोणबाट प्रश्न उठ्न थालेका छन् ।

मंगलबार राति करिब १०ः५० बजे बैवाहस्थित चौराहाबाट घर फर्कँदै गरेका एक मदिरा सेवन गरेका युवाले झण्डा टाँगिएको डोरी तानेर “रास्वपा जिन्दाबाद” नारा लगाएको घरबेटीले बताएका छन् । ती युवकहरू भागेपछि सूर्य चिन्ह अंकित झण्डा चुँडालिएको र लतारिएको अवस्थामा भेटिएको जनाइएको थियो ।

घटनाको भोलिपल्ट एमाले गाउँ कमिटी अध्यक्ष प्रेमराज खातीले इलाका प्रहरी कार्यालय बेलडाँडीमा निवेदन दिएका थिए । लगत्तै प्रहरी निरीक्षक जय पार्कीको नेतृत्वमा खटिएको टोलीले बेलडाँडी-४ बैवाहका २५ वर्षीय वीरबहादुर राना क्षेत्रीसहित पाँच जना युवालाई पक्राउ गरेको थियो । उनीहरूमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

तर, घटनाले राजनीतिक मोड लिएको छ । बेलडाँडी एमालेले पक्राउ परेकाहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता भन्दै प्रचार गरेको भए पनि प्रहरीले त्यस्तो कुनै ठोस प्रमाण फेला नपरेको स्पष्ट पारेको छ । प्रहरी स्रोतका अनुसार उनीहरू रास्वपाका “शुभचिन्तक हुन सक्ने” अनुमान मात्र गरिएको हो ।

उता बेलडाँडी रास्वपाले औपचारिक विज्ञप्ति जारी गर्दै च्यातचुत गर्ने व्यक्ति आफ्ना कार्यकर्ता नभएको जनाएको छ । यससँगै एमालेले किन रास्वपाको नाम जोडेर विषयलाई राजनीतिक रंग दिन खोज्यो आरोप प्रष्ट भएको छ । देशभर घण्टीमा भोट हाल्ने हावा चलिरहेको बेला कसरी रास्वपाका भोट घटाउन सकिन्छ भनेर एमाले लागेको प्रष्ट देखिन्छ । अनावश्यक एमालेले रास्वपाको बदनाम गर्न खोजेको स्थानीयहरुको भनाई छ ।

पक्राउ परेका युवाका परिवारजनको गुनासो अझ पीडादायी छ । उनीहरूका अनुसार सामान्य आवेगमा भएको गल्ती स्वीकार्दै गाउँमै मिलापत्र गर्न खोज्दा समेत मुद्दा जबरजस्ती अगाडि बढाइएको हो । एमालेबाट निर्वाचित वडा सदस्य खगेश्वरी भण्डारी र चन्द्र खडकाको दबाबमा मुद्दा दर्ता गराइएको आरोप परिवारजनले लगाएका छन् ।

“सामान्य घटनालाई अनावश्यक रूपमा ठूलो बनाइयो । हामी त यसअघि एमालेमै भोट हाल्ने मान्छे,” एक अभिभावकले दुःखेसो पोखे । आफ्नै मतबाट निर्वाचित जनप्रतिनिधिबाट कठोर व्यवहार भोग्नुपरेको उनीहरूको भनाइ छ ।

स्थानीयस्तरमा कतिपयले राजनीतिक प्रतिस्पर्धाको बीचमा सामान्य घटनालाई मुद्दा बनाएर दलगत आरोप–प्रत्यारोपमा रूपान्तरण गरिएको टिप्पणी गरेका छन् । गरिब जेनजी परिवारले गाउँमै सहमति गरेर विषय टुंग्याइदिन आग्रह गर्दा समेत कठोर कदम चालिएको भन्दै एमालेप्रति वितृष्णा बढेको उनीहरूको दाबी छ ।

घटना कानुनी प्रक्रियामा गएसँगै अब यसले कस्तो मोड लिन्छ भन्ने चासो बढेको छ । तर, सामान्य झण्डा च्यातिएको घटनाले बेलडाँडीको राजनीतिक वातावरण भने असामान्य रूपमा तरंगित बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित