काठमाडौँ। मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन्। गुरुङले कुल २ हजार ४१५ मत प्राप्त गर्दै प्रतिस्पर्धीलाई पछि पार्दै जित हासिल गरेका हुन्।
निर्वाचनमा नेकपाकी उम्मेदवार यशोदा सुवेदीले ४४६ मत प्राप्त गरेकी छन्। मतपरिणाम अनुसार गुरुङ स्पष्ट अन्तरले विजयी भए पनि उनले तत्काल सांसदको रूपमा शपथ लिन भने नपाउने अवस्था देखिएको छ।
भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडामा लगाउँदा भएको अनियमितता सम्बन्धी मुद्दामा विशेष अदालतले गुरुङलाई भ्रष्टाचारको मतियार ठहर गरेको थियो। सोही कारण उनी सांसदमा निर्वाचित भए पनि शपथग्रहण प्रक्रियामा सहभागी हुन नपाउने कानुनी अवस्था सिर्जना भएको हो।
विशेष अदालतले २०७९ फागुन १५ गते गुरुङलाई दोषी ठहर गर्दै उनीबाट एक करोड २१ लाख रुपैयाँ असुल गर्नुपर्ने फैसला सुनाएको थियो।
हाल उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ। सर्वोच्च अदालतबाट अन्तिम फैसला नआएसम्म गुरुङको सांसदको हैसियत र शपथग्रहणको विषय अन्योलमा रहने देखिएको छ।





















Discussion about this post