इतिहास रच्दै बेलडाँडीबाट संसदसम्म जनकसिंह धामी, कञ्चनपुर–१ मा रास्वपाको शानदार विजय

बेलडाँडी । कञ्चनपुर क्षेत्र नं. १ का मतदाताले फेरि एकपटक परिवर्तनको पक्षमा स्पष्ट सन्देश दिएका छन्। लामो समयदेखि पुराना दलको प्रभाव रहेको क्षेत्रमा यसपटक नयाँ अनुहारलाई संसद पठाउँदै मतदाताले इतिहास रचेका छन्। बेलडाँडी गाउँपालिकामा बसोबास गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जनकसिंह धामी भारी मतान्तरसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। यससँगै बेलडाँडीले इतिहासमै पहिलो पटक आफ्नै भूमिबाट सांसद पाएको छ।

निर्वाचन परिणामअनुसार धामीले २४ हजार ३३२ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा उम्मेदवार विना मगरले ११ हजार ११० मत, नेपाली काँग्रेसका गोपी प्रसाद उपाध्यायले ८ हजार ४६७ मत तथा नेकपा एमालेका तारालामा तामाङले ८ हजार ८८ मत प्राप्त गरेका छन्।

धामीले आफ्ना निकटतम प्रतिद्वन्द्वी विना मगरलाई १३ हजार २२२ मतको फराकिलो अन्तरले पराजित गर्दै उल्लेखनीय जीत निकालेका हुन्। मत परिणामले कञ्चनपुर-१ का मतदाता पुराना राजनीतिक शैलीबाट आजित भई नयाँ विकल्पको खोजीमा रहेको स्पष्ट देखाएको विश्लेषकहरू बताउँछन्।

जनकसिंह धामीको जन्म २०२७ साल पुस २५ गते दार्चुलाको शैल्यशिखर नगरपालिका-६ मा भएको हो । पहाडमै बाल्यकाल बिताएका उनले कक्षा ९ सम्म दार्चुलाको शंकरपुर माध्यमिक विद्यालय पस्तीमा अध्ययन गरे।
२०४२ सालमा परिवारसँगै तराई झरेका धामीले कञ्चनपुरमै आफ्नो भविष्य निर्माण गरे। २०४४ सालमा उनले एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षासँगै पत्रकारितामा पनि सक्रिय रहे।

२०४६ सालको जनआन्दोलनका बेला उनी विद्यार्थी राजनीतिमा सक्रिय थिए। आन्दोलनका क्रममा जेलसमेत परेका धामीले त्यसपछि केही वर्ष शिक्षण पेसामा पनि काम गरे। करिब चार वर्ष शिक्षण पेशामा बिताएपछि रोजगारीका लागि दक्षिण कोरिया पुगे।

कोरियामा रहँदा त्यहाँको विकास र प्रणाली देखेपछि स्वदेश फर्केर केही गर्ने सोच बनाएका धामी नेपाल फर्किएपछि कृषिलाई आफ्नो मुख्य पेशा बनाए।
हाल उनी बेलडाँडी गाउँपालिका-४ मा बसोबास गर्दै आएका छन्। पुनर्वास नगरपालिकामा करिब ७-८ बिघा जमिनमा व्यावसायिक केरा खेती गर्दै आएका उनी जिल्लामा सफल व्यवसायी किसानका रूपमा परिचित छन्।

केरा उत्पादनसँगै उनले केरा पकाउने च्याम्बर सञ्चालन गर्दै स्थानीय किसानका उत्पादनको खरिद-बिक्री व्यवस्थापनमा पनि सहयोग गर्दै आएका छन्।

धामीको प्रारम्भिक राजनीतिक यात्रा नेपाली कांग्रेससँग जोडिएको थियो। २०४६ सालको आन्दोलनताका उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सक्रिय राजनीतिमा लागेका थिए। तर समयसँगै पुराना दलको कार्यशैली, भ्रष्टाचार र कुशासनप्रति उनी निराश बन्दै गए।

धामी भन्छन्, “देशमा व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएको देखिएन। नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा मन दुख्थ्यो। यही वितृष्णाले मलाई परिवर्तनको पक्षमा उभिन प्रेरित गर्‍यो।”

राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएपछि उनी त्यसमा आबद्ध भए र पछिल्ला तीन वर्षदेखि संगठन विस्तारमा सक्रिय रूपमा खटिँदै आएका थिए।

थारू र राना समुदायको बाहुल्यता रहेको कञ्चनपुर-१ मा अन्य समुदायबाट उम्मेदवार बनेर चुनाव जित्नु धामीका लागि ठूलो चुनौती थियो। तर परिवर्तनको एजेन्डा, व्यक्तिगत छवि र किसान पृष्ठभूमिले उनलाई मतदातामाझ लोकप्रिय बनायो ।

निर्वाचनपछि धामीले पुराना नेताहरूले जस्तो असम्भव आश्वासन नबाँड्ने स्पष्ट पारेका छन्। उनले भने, “अघिल्ला नेताहरूले चुनाव जित्न ‘तिम्रो छोरालाई जागिर लगाइदिन्छु’, ‘पोल गाडिदिन्छु’, ‘बाटो बनाइदिन्छु’ जस्ता सपना बाँड्थे। सांसदको काम नीति र कानुन बनाउने हो। म सिंहदरबारको फोहोर सफा गर्न र नीतिगत भ्रष्टाचार अन्त्य गर्न गएको हुँ। माथि सफा भयो भने तल आफैं सफा हुन्छ।”

कञ्चनपुर-१ का दीर्घकालीन समस्याबारे आफू जानकार रहेको बताउँदै धामीले ती मुद्दा संसदमा उठाउने प्रतिबद्धता जनाएका छन्।
विशेषगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका आरक्ष पीडितहरूको ४९ वर्षदेखिको समस्या, दोदा र चौधर नदीको कटान-डुबान, अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्या समाधानका लागि पहल गर्ने उनले बताएका छन्।

यसका साथै भारतसँगको खुला सिमानाका कारण हुने अवैध व्यापार तथा सुरक्षा चुनौतीलाई व्यवस्थित गर्न पनि पहल गर्ने उनको भनाइ छ। धामीले भने, “सिमानामा नियमन छैन, किसानले मल पाउँदैनन्, आरक्ष पीडितहरू अझै त्रिपालमुनि छन्। यी समस्या समाधान गर्न म इमान्दारीपूर्वक लाग्नेछु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित