कञ्चनपुर । सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहले विकास निर्माण तथा क्षेत्रीय समस्याबारे छलफल गर्नुभएको छ। भेटमा सुदूरपश्चिमका प्राथमिकतामा रहेका पूर्वाधार, स्वास्थ्य, सीमा व्यवस्थापन लगायतका विषयमा विस्तृत कुराकानी भएको बताइएको छ।
छलफलका क्रममा सहभागी सांसदहरूले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई शीघ्र अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका थिए।
यसैबीच सांसद जनक सिंह धामीले कञ्चनपुर क्षेत्र नम्बर-१ का संघीय सरकारसँग सम्बन्धित विभिन्न समस्या समाधानका लागि धारणा राख्दै लिखित रूपमा मागपत्र समेत पेश गर्नुभएको छ।
उहाँले दोदा र चौधर नदीमा तटबन्ध निर्माण, आरक्ष पीडितको समस्या समाधान, बेलौरी भन्सार स्तरोन्नति, कलुवापुर-बेलौरी सडक कालोपत्रे अनुमति तथा बजेट व्यवस्थापन, बेलौरी-बेलडाँडी हुलाकी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढाउने लगायतका विषय उठाउनुभएको थियो।
त्यसैगरी डोकेबजार भन्सार पुल २४ सै घण्टा सञ्चालन, धनगढी-पुनर्वास जोड्ने वैकल्पिक पुल निर्माण, निर्माणाधीन खानेपानी योजना सुचारु, सिमसार क्षेत्रको पानी निकास, भूमि आयोग गठन, निर्माणाधीन स्वास्थ्य चौकीमा बजेट विनियोजन तथा रोकिएका योजनाहरू पुनः सञ्चालन गर्न समेत उहाँले माग गर्नुभएको छ।
छलफलमा सुदूरपश्चिमका अन्य महत्वपूर्ण क्षेत्रीय तथा राष्ट्रिय योजनाबारे समेत कुराकानी भएको जनाइएको छ। प्रधानमन्त्री शाहले उठाइएका विषयहरू अध्ययन गरी आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।



















Discussion about this post