काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित मनासास पार्कबाट नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको झन्डै दुई वर्षपछि यस प्रकरणमा नयाँ फरेन्सिक प्रमाण फेला परेको छ ।
सन् २०२४ को जुलाई,अगस्ट महिनामा आफ्नो घरबाट रहस्यमय रूपमा बेपत्ता भएकी २८ वर्षीया ममताको खोजी र अनुसन्धानका क्रममा एउटा आराबाट मानव कपाल र रौँका टुक्राहरू फेला परेका हुन् ।
भर्जिनियाको फरेन्सिक विज्ञान विभागका अनुसन्धानकर्ताहरूले बरामद गरेका यी प्रमाणहरूलाई अहिले राज्यका अधिकारीहरूले थप परीक्षण गरिरहेका छन् । फक्स फाइभले प्राप्त गरेको अदालतको नयाँ दस्तावेज अनुसार फरेन्सिक अनुसन्धानकर्ताहरूले उक्त आराबाट संकलन गरिएका प्रमाणहरूको विस्तृत विश्लेषण गरेका छन् ।
वैज्ञानिकहरूले परीक्षण गरेका सामग्रीहरूमा तीनवटा कपाल, १३ वटा कपालका टुक्रा, केही रेशा र फोहोरका कणहरू रहेका छन् । अनुसन्धानकर्ताहरूले सुरुमा यी प्रमाणहरूको भिजुअल परीक्षण गर्नुका साथै ‘स्टेरियो माइक्रोस्कोपी’ प्रविधिको प्रयोग गरेका थिए र त्यसपछि थप फरेन्सिक विश्लेषण अगाडि बढाएका हुन् ।
अदालतको अभिलेख अनुसार आरामा फेला परेका तीनवटा मानव कपाल ‘न्युक्लियर डीएनए परीक्षण’ का लागि उपयुक्त हुन सक्ने देखिएको छ । ती कपाललाई थप विस्तृत परीक्षणका लागि फरेन्सिक बायोलोजी सेक्सनमा पठाइएको छ ।
यद्यपि, त्यहाँ भेटिएका अन्य १३ वटा कपालका टुक्रा भने न्युक्लियर डीएनए परीक्षणका लागि उपयुक्त नभएको फरेन्सिक अधिकारीहरूले जनाएका छन् । आराबाट बरामद गरिएका ती कपालहरू अहिले राज्यको सेन्ट्रल ल्याबोरेटरीमा थप डीएनए विश्लेषणको प्रक्रियामा रहेका छन् ।
यस बहुचर्चित प्रकरणमा ममताका श्रीमान् नरेश भट्टमाथि कानुनी कारबाहीको प्रक्रिया जारी छ । उनलाई श्रीमतीको हत्या गरेको र शव लुकाएको अभियोगमा पक्राउ गरी हिरासतमा राखिएको छ । अभियोजकहरूले नरेशले नै ममताको हत्या गरेको दाबी गरे पनि हालसम्म ममताको शव भने फेला पर्न सकेको छैन ।
सन् २०२४ मा ममता बेपत्ता भएदेखि नै अमेरिकी प्रहरी र फरेन्सिक टोलीले यसको अनुसन्धान गरिरहेको छ । अहिले फेला परेको नयाँ प्रमाणले सरकारी वकिल र अनुसन्धानकर्ताहरूलाई नरेश भट्टविरुद्धको मुद्दा अझ बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
डीएनए परीक्षणको रिपोर्ट आएसँगै यस रहस्यमय घटनाबारे थप तथ्यहरू बाहिर आउने अनुमान गरिएको छ ।






















Discussion about this post