सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू, दिउँसो २ बजेदेखि लागू

सिरहा । सिरहा जिल्लाको पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम साउन १४ गते दिउँसो २:०० बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लागू गरिएको हो। आन्दोलन तथा सम्भावित हुलदङ्गाका कारण शान्ति-सुरक्षामा असर पर्न सक्ने आकलनपछि जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा उक्त आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

कर्फ्यू गोलबजार नगरपालिकाको कसहा खोला (वडा नं.-३) देखि चोहर्वा चोकसम्म, उत्तरतर्फ वडा नं.-६ स्थित सैनिक चोकदेखि दक्षिणतर्फ वडा नं.-४ मा रहेको राजेन्द्र प्रसाद राजदेव बहुमुखी क्याम्पस आसपासको क्षेत्रमा लागू हुनेछ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेशको पूर्ण पालना गर्न सर्वसाधारणसँग आग्रह गरेको छ। शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै आदेश उल्लंघन गरी कुनै पनि गतिविधि गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।

प्रशासनले जिल्लाको सुरक्षा अवस्थालाई निरन्तर अनुगमन गरिरहेको जनाएको छ भने परिस्थितिअनुसार आवश्यक थप निर्णय गरिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित