कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मन्त्रीको नाम टुंगो लगाउन नसकेपछि १२ जना आकांक्षी प्रदेशसभा सदस्यको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ।
मन्त्री चयनका लागि नेकपा सुदूरपश्चिमका इन्चार्ज भानुभक्त जोशीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको थियो। तर मन्त्री बन्न चाहने प्रदेशसभा सदस्यको संख्या धेरै भएपछि कार्यदलले अन्तिम निर्णय गर्न नसकेको हो।
बिहीबार बसेको कार्यदलको बैठकले मन्त्री पदका आकांक्षीहरूको नाम केन्द्रमा पठाउने निर्णय गरेको इन्चार्ज जोशीले जानकारी दिए।
उनका अनुसार आकांक्षीको संख्या धेरै भएकाले कार्यदलबाटै नाम टुंग्याउन नसकिएको हो। अब पार्टी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएपछि प्रदेश सरकार विस्तार गरिने उनले बताए।
स्रोतका अनुसार साविक एकीकृत समाजवादीबाट दुई, नागरिक उन्मुक्ति पार्टीबाट तीन र तत्कालीन माओवादी केन्द्रबाट सात गरी १२ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरिएको छ।
साविक एकीकृत समाजवादीबाट प्रकाश रावल र नरेश शाहीको नाम सिफारिस भएको छ। त्यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट खुसीराम चौधरी, कैलाश चौधरी र इन्दिरा गिरीको नाम पठाइएको छ।
तत्कालीन माओवादी केन्द्रबाट मानबहादुर धामी, अक्कल रावल, ओमविक्रम भाट, झपट साउद, शिवसिंह ओली, जानकी पौडेल र लक्ष्मी विकको नाम मन्त्रीका लागि केन्द्रमा सिफारिस गरिएको स्रोतले जनाएको छ।
एमालेको समर्थनमा २९ साउनमा खगराज भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नियुक्त भएकै दिन उनले एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए। त्यसपछि बुधबार मुख्यमन्त्री भट्टले प्रदेशसभाबाट विश्वासको मतसमेत प्राप्त गरेका थिए।
तर नेकपाभित्र मन्त्रीको नाम टुंगो लाग्न नसक्दा प्रदेश सरकार विस्तारमा केही ढिलाइ भएको छ। पार्टी केन्द्रबाट तीन मन्त्री र दुई राज्यमन्त्रीको नाम टुंगो लागेपछि मुख्यमन्त्री भट्टले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।





















Discussion about this post