चितवन । बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
मृतकको कानबाट सुनको मुन्द्रा निकालिरहेको दृश्यसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले भिडियोका आधारमा घटनामा संलग्न व्यक्तिको पहिचान गरी दुई जनालाई नियन्त्रणमा लिएको हो।
विपत्तिको समयमा बाढीले बगाएर ल्याएको शवसमेत सुरक्षित नरहेको देखिने भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा घटनाको व्यापक विरोध भएको थियो। मृतकप्रति देखाइएको व्यवहारलाई अमानवीय भन्दै दोषीमाथि कडा कानुनी कारबाहीको मागसमेत उठेको थियो।
यसैबीच, बिहीबार राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सर्वदलीय बैठकपछि घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका थिए।
प्रहरीका अनुसार पक्राउ परेकामाथि शवप्रति अमानवीय व्यवहार तथा चोरीसम्बन्धी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















Discussion about this post