काठमाडौं । सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा फोटोसप र कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी तयार पारिएका भ्रामक स्क्रिनसट तथा सामग्रीमार्फत हवाई भाडादरबारे भ्रम फैलाइएको भन्दै बुद्ध एयरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत विपद्का बेला यात्रुलाई सहज र किफायती हवाई सेवा उपलब्ध गराउने उद्देश्यले विशेष सहुलियतसहितको भाडादर कायम गरिएको स्पष्ट पारेको छ।
बुद्ध एयरका अनुसार काठमाडौं-धनगढी एकतर्फी हवाई भाडा १० हजार ८०० रुपैयाँमा उपलब्ध गराइएको छ। न्यूनतम भाडादरमा टिकट उपलब्ध गराइएकाले अधिकांश दिनका उडानमा टिकट बिक्री भइसकेको कम्पनीले जनाएको छ।
रसुवा क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण राजमार्गमा ठूलो क्षति पुगेर सडक यातायात अवरुद्ध भएपछि यात्रुलाई सहज बनाउन कम्पनीले विशेष व्यवस्था गरेको हो। यसअन्तर्गत बाटोघाटो सहज नहुँदासम्म चाडपर्व तथा तिहारसम्म न्यूनतम भाडादरमा टिकट उपलब्ध गराउने घोषणा गरी कार्यान्वयन भइरहेको विज्ञप्तिमा उल्लेख छ।
कम्पनीले आफ्नो आधिकारिक बिक्री प्रणाली तथा बिक्री माध्यमबाहेक अन्य व्यक्ति, ट्राभल एजेन्सी वा अनधिकृत माध्यमबाट बढी मूल्यमा टिकट बिक्री गरिएको पाइएमा कडा आपत्ति जनाउँदै प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाउने स्पष्ट पारेको छ।
त्यस्तै, सामाजिक सञ्जाल वा अन्य अनधिकृत माध्यमबाट प्रसारित भ्रामक सूचना तथा स्क्रिनसटका आधारमा हवाई भाडादरबारे गलत धारणा नबनाउन यात्रुलाई आग्रह गरेको छ। भाडादर तथा टिकटसम्बन्धी आधिकारिक जानकारीका लागि बुद्ध एयरको वेबसाइट, मोबाइल एप तथा आधिकारिक बिक्री माध्यम प्रयोग गर्न कम्पनीले अनुरोध गरेको छ।
बुद्ध एयरले काठमाडौं बाहिरिने यात्रुको संख्या बढिरहेको र यात्रुको सुविधालाई ध्यानमा राख्दै न्यूनतम भाडादरमा प्रोमो कोडमार्फत छुटसमेत उपलब्ध गराइएको जनाएको छ। उक्त प्रोमो कोड कम्पनीको वेबसाइट तथा मोबाइल एपबाट प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।
विपद्का कारण सडक यातायात प्रभावित भएको अवस्थामा यात्रुलाई सहज, सुरक्षित र किफायती हवाई सेवा उपलब्ध गराउने प्रतिबद्धता निरन्तर कायम रहेको बुद्ध एयरले जनाएको छ।





















Discussion about this post