बेलडाँडी– बेलडाँडी गाउँपालिका र बेलडाँडी स्वास्थ्य केन्द्रले पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा सुधार गर्दै आएको छ ।
पालिकाले सवै वडामा आधारभूत स्वास्थ्य केन्द्र, घरमा शून्य प्रसूति, पोस्टमार्टम, अल्ट्रासाउण्ड, रेबिज भ्याक्सिन, सर्पदंस उपचार सेवा, एनालाइजर मेसिन, डेलिभरी एसी, डाबलर मेसिन, इसिजी मेसिन, एम्वुलेन्स सेवा, लगायतका उपकर मेसिनबाट विरामी सेवाग्राहीहरुलाई सेवा दिने कार्य भइरहेको बेलडाँडी स्वास्थ्य केन्द्रका इन्चार्ज राजेन्द्र प्रसाद भट्टले जानकारी गराउनु भयो ।
गाउँपालिकाले बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको अस्पताल बनाउन आवश्यक जग्गा व्यवस्थापन गरि भवन निर्माणको कार्य अघि बढाएको छ । यस स्वास्थ्य केन्द्रबाट थप सेवा विस्तार गर्न नागरिकलाई आवश्यक पर्ने आधारभुत स्वास्थ्य सेवा सुदृढ गर्दै अस्पतालको रुपमा प्राथमिक स्वास्थ्य केन्द्रलाई विकास गर्न हरेक वर्ष नयाँ सेवाहरु विस्तार गर्दै लैजान पालिका अध्यक्ष हरिशचन्द्र रानाले बेला बेलामा स्वास्थ्य केन्द्रका डक्टर कर्मचारीहरुसंग छलफल परामर्श गरिराखेका छन् ।
‘एउटा प्राथमिक स्वास्थ्य केन्द्र, एउटा स्वास्थ्य चौकी र ३ वटा वडामा आधारभूत स्वास्थ्य सेवा तथा सहरी स्वास्थ सेवाबाट नागरिकलाई स्वास्थ्य सेवा दिदै आइरहेका छन् ।
छोरी जन्मिदा प्रोत्साहन गर्ने कार्यक्रम समेत बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले गत बर्ष देखि लागू गरेका छन् ।
पछिल्लो समयमा दरबन्दी प्रयाप्तमात्रामा रहेको पाइन्छ । गत बर्ष देखि बेलडाँडी स्वास्थ्य केन्द्रले सर्पदंस उपचार सेवा शुभारम्भ गरेको छ । सर्पदंस उपचारका लागि स्वास्थ्य केन्द्रले डक्टर सहित ४ जना जनशक्तिको व्यवस्थापन गरेको पाइन्छ । यस केन्द्रले सर्पदंस उपचार सेवा दिन लागेको १ बर्ष पुरा भएको छ । १ बर्षमा ४२ जना सर्पदंस विरामीले सेवा लिएका छन् । जसमध्ये २६ महिला र १६ पुरुष रहेका छन् । बेलडाँडीले समेत बेलौरी, अर्जुनी ब्यारेक सरहको सेवा दिने गरेको छ ।
सर्पले टोकेको ठाउँमा घाउ बन्ने, रगत बग्ने, सुन्निने, रातो हुने, कमजोरी महसुस हुने, दुख्ने, वाकवाकी लाग्ने, चक्कर आउने, टोकेको ठाउँ लाटो हुने वा झम्झमाउने जस्ता सामान्य लक्षण दखिने गर्दछन् ।
बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रबाट मात्र दैनिक ९० देखि १५० जनाले सेवा लिने गरेको इन्चार्ज भट्टको भनाई छ । जसमध्ये बढी विरामी रुघाखोकी, ज्वरो आएका आउने गरेको उनले बताए । यस सेवा केन्द्रबाट सेवा लिने विरामीहरु मध्ये १० प्रतिशत मानिसहरु गाउँपालिका बाहिरका रहेका छन् ।
बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख माधवानन्द भट्टका अनुसार यस बर्ष देखि आँखा उचार केन्द्र संचालनमा ल्याउने तयारी भएको बताए । उनका अनुसार फार्मेसी सेवा संचालनका लागि ६ लाख लागत स्टमेट रहेको र आर्थिक अभावले सो कार्य रोकिएको बताए । बेलडाँडी गाउँपालिकाले गत बर्ष ३० लाख बराबरको औषधी खरिद गरेको थियो भने यस बर्षका लागि सबै गरेर २६ लाख रहेको छ ।
गाउँपालिकाले पालिका भरि स्वास्थ्य सेवामा मात्र प्राविधिक र अप्राविधक गरी ४४ जना कर्मचारीबाट सेवा प्रदान गराइराखेको छ ।
Discussion about this post