कञ्चनपुर, २५ साउन । कञ्चनपुरको दोदा नदी गाँउ पस्दा सिमरी गाँउ डुवानमा परेको छ । चुरे भएर बग्ने दोदा नदीमा आएको वाढी पुनर्वास नगरपालिका ५ सिमरी गाँउ पस्दा डुवान भएको हो ।
कृष्णपुर नगरपालिका २ खल्लागोठ हुुँदै लालझाडी, बेलौरी पुनर्वास हुँदै भारतीय दुधुवा नेशनल पार्कमा मिसिने दोदा नदी सिमरी क्षेत्रमा समथर भाग भएले गाँउ पसेको स्थानीयले बताएका छन ।
स्थानीय एव पुनर्वासका संचारकर्मी किशोर तामाङ्गले उत्तर भएर दक्षिण तर्फ बग्ने दोदा नदी सिमरी गाँउमा पुँदा समथर भएकाले पुर्वतिर निरन्तर जानुपर्ने भएपनि दक्षिणतर्फ आउँदा गाँउ डुवानमा पर्दै आएको बताए ।
‘दोदा नदीमा पानीको सतह बृद्धि भएपनि सोझै सिमरी गाँउ सहितका आसपासका बस्ती डुवानमा पर्दै आएका छन, ‘उनले भने, ‘नदी गाँउपस्दा हुलाकी राजमार्ग समेत अवरुद्ध हुँदा आवातजावतमा समेत प्रभाव पर्दै आएको छ, अब यसको विकल्प खोज्नुपर्छ ।’
बुधबार सिमरी गाँउका ४० र रातोखालेका ५ परिवारजति विस्थापित भएका छन । पुनर्वास नगरका मेयर तोया प्रशाद शर्माले दुवै गाँउमा पानी पस्दा विस्थापित भएको बताए । मेयर शर्माले विस्थापितका लागि सुरक्षित आवासदेखि खाद्यान्न प्रबन्ध गरिएको बताए ।
‘हिजो भन्दा आज पानी घटिरहेको छ, ‘मेयर शर्माले भने, ‘नदीमा पानीको सतह बढे जोखिम बढ्छ, घटे घटदै जान्छ, फेरी विस्थापित घर फर्किन्छन ।’ वाढीले मानविय तथा भौतिक क्षति नभएको मेयर शर्माले बताए । नदी गाँउपसेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी सहितका स्थानीयले वाढी प्रभावित नागरिकको उद्दार गरेको छ । प्रभावित मानिस सहित उनीहरुको सर समान सारिएका छन ।
सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका गणपति प्रेम बहादुर रावलले वाढी प्रभावित नागरिकलाई उद्दार गरेर सुरक्षित स्थानमा सारिएको बताए । ‘हामीले उनीहरुलाई विपद्को जोखिमबाट उद्दार गरेर सुरक्षित स्थानमा ल्याएका छौँ, ‘उनले भने, ‘उनीहरु आफन्तको घरमा बसेका छन, पानी कम भए घर फर्किन्छन ।’
सशस्त्र प्रहरीले अहिलेको विपद्मा संकटमा परेका मानिसको उद्दारदेखि अस्थायी तटबन्ध निर्माणमा खटिएको छ । समान माथिल्लो तला वा आफन्तको घरमा लगेका छन । साउनको तेस्रो साता कञ्चनपुरका शहरबस्ती अव्यवस्थित भौतिक संरचना निर्माण र गाँउबस्ती नदीखोलाको पानी सतह बृद्धि भएपछि डुवानमा परेका छन ।
शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर बजार समेत डुवानमा पर्दै आएको छ । स्थानीय अक्कल विष्टले सडक निर्माण गर्दा यस अघि निकास रहेको कल्र्भट पुरिदा बजार डुवानमा परेको बताए । ‘चुनावका बेला भोट माग्न आउँछन, ‘आज सिङ्गो बजार डुवानमा पर्दा कोही जनप्रतिनिधी आउँदैनन, बरु डोजर ल्याएर आउँछन ।’
शुक्लाफाँटा नगरका १ का वडाध्यक्ष उत्तरदेव भट्टले स्थानीयले सडकको जमिन कब्जा गरेपछि डुवानको समस्या आएको र उनले स्थानीयले सडकको अतिक्रमण गरेको जमिन छाडे स्वत डुवान समस्या हट्ने बताए ।
विभिन्न खोला नालाहरुमा आएको वाढीले चुरेदेखिका तराईसम्मका उर्बराभूमि, तटबन्ध, कल्र्भट सहितका संरचना भत्काईदिएको छ ।
Discussion about this post