बेलडाँडीमा दुई दिन बृहत मौलिक तीज लाग्दै

बेलडाँडी, भाद्र २९ । नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको आधुनिक रौनक अहिले उत्कर्षमा पुगेको छ । सामाजिक परिवर्तनसँगै बढ्दो बैदेशीक देखासिकीका कारण पुरानो मौलिक तीज लोप हुन थालेपछि समुदायमा आधारित कञ्चन सामुदायिक विकास केन्द्रले बेलडाँडीमा दुई दिन बृहत मौलिक तीज कार्यक्रम आयोजना गर्न लागेको छ ।

 

यसै ३१ गते आइतवार चवन्नी बजार पछाडीको खुल्ला मञ्चमा परम्परागत लोकलय र वाद्यवादन शैली सहित पुरानो मौलिकता झल्किने खालको तीज कार्यक्रम प्रस्तुति गरिनुका साथै दर खाने कार्यक्रम समेत रहेको कञ्चन सामुदायिक विकास केन्द्रकी व्यवस्थापक गिता रानाक्षेत्रीले जानकारी गराउनु भयो । १ गते तीजकै दिन समेत बृहत तीज कार्यक्रमको आयोजना गरिएको बताए ।

वहाँका अनुसार केही वर्षयता तीज मनाउने परम्परागत शैलीमा व्यापक परिवर्तन आएको बताउदै नाचगान, गीत, पहिरनका क्षेत्रमा आएको परिवर्तनले तीजको मौलिकस्वरूप पूरै हराउने अवस्था देखिएकाले यस्तो मौलिक तीज कार्यक्रम गर्न खोजेको उनले बताईन ।

यसपालिको तीजमा जाने हो म माइत, बजार गर्न जान्छु स्वामी पैसा दिनुस् त । चुरा डोरी टीका शिरफूल र तिलहरी भन्नुभो स्वामीले ल्याउँ त पियारी ।’

गायिका लक्ष्मी न्यौपानेले गाएको गीत सुन्दा तीजको रमझम सुरु भएपछि माइत जाने तयारीमा नारीहरू छन् भन्ने बुझाइ हुन्थ्यो । कतिबेला माइतीघरमा पुगिएला र आमाले पकाएको मीठामीठा परिकार दरका रुपमा दाजुभाइ बुबाआमा दिदीबहिनीसँगै बसेर खान र नाच्न पाइने उत्सुकता हुन्थ्यो । अहिले मीठो मसिनो खान माइतीमै जानुपर्छ भन्ने छैन । घरमै सुख सुविधाले पनि मीठो मसिनो खान चाडपर्व नै पर्खनुपर्ने अवस्था छैन ।

 

‘भररर रानीचरी ऐँसेलुको गाँजैमा मलाई सम्झी नरोऊ आमा सम्झी साँझमा’ घरको कामधन्दा, तीजमा बिदा नपाउँदा पीडालाई गीतबाटै तीजमा छोरी माइत आइन भनेर सम्झेर नरुन आग्रह गरिएको पाइन्छ । पहिला पहिला तीजका गीतमा दुःख, वेदनाका भाव झल्कन्थे । माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दै बाटो हेरेको जस्ता कुरा तीज गीतमा हुन्थे, अहिले संस्कृतिभन्दा मनोरञ्जन र तामसी भावका गीत बढी छन् ।

कञ्चन सामुदायिक विकास केन्द्रकी का.वा. अध्यक्ष रोशना थापा मगरले भने ‘पहिलेका महिलालाई घरायसी कामकाजको बोझबाट प्रायः फुर्सद मिलाउन हम्मेहम्मे पर्थ्यो । त्यसकारण वर्षदिनको लागि एकदिन तीजमा मीठोमसिनो खानुपर्छ भन्दै जोहो गरेर छुट्याउने चलन थियो ।’

वर्षदिनमा एकदिन तीजका लागि माइत जान पाइन्थ्यो त्यसको लागी पनि पहिले नै सासू ससुरा र आफ्नो पतिलाई खुसी राख्नुपर्थ्यो र सबै कामको चाँजोपाँजो स्वयं आफैँले मिलाएर हिँड्नु पर्दथ्यो । तर अहिले भने त्यस्तो छैन् जुन राम्रो कुरा हो तर परिवर्तनको नाममा विकृती भने भित्रयाउन नमिल्ने उनी बताउछिन् ।

यतिबेला नेपाली समाजका हरेक वर्ग र उमेरका हिन्दू महिलाहरुलाई तीज पर्वले छपक्कै छोएको छ । तीज पर्व सुरु भएसंगै महिलाहरु दर खान र रमाईलो गर्नमा ब्यस्त देखिन्छन् । बदलिँदो समय र परिवेशसँगै तीज मनाउने शैली र यसको रौनकता पनि फेरिँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित