बेलडाँडी, २१ असोज । कञ्चनपुरका पालिकामा कार्यरत कर्मचारीहरुले पेन डाउन जारी नै राखेका छन् । संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका कञ्चनपुुर स्थानीय तहका कर्मचारीहरुले अत्यावश्यक बाहेक सबै सेवा ठप्प पार्दा स्थानीय तहको सेवा प्रभावित बनेको छ ।
बेलडाँडी गाउँपालिकाका कर्मचारीहरुले कार्यालय अगाडी कालो व्यानर सहित धर्ना दिएका छन् । यस्तै लालझाडी, बेलौरी पुनर्वास, बेदकोट, कृष्णपुर, शुक्लाफाँटा, भीमदत्त, दोधारा चाँदनी नगरपालिकामा कार्यरत कर्मचारीहरुले पनि पालिका अगाडी कालो ब्यानर सहित धर्ना दिएका छन् ।
काम नै रोकेर कर्मचारीहरु आन्दोलनमा उत्रीएपछि सेवा प्रभावित बनेको छ । सरकारले स्थानीय सेवाका कर्मचारीहरुको मागबारे कुनै चासो नदिएपछि केन्द्रीय संघर्ष समितिको आह्वान अनुसार शुक्रबारदेखि पेन डाउन गरेर आन्दोलन गर्नुपरेको स्थानीय तह कर्मचारी संघर्ष समितिले जनाएको छ ।
उहाँहरुका अनुसार अधिकार प्राप्तीका लागि अनिश्चतकाल सम्मका लागि अत्यावश्यक वाहेकका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रनुपरेको बाध्यता जनाएका छन् । केन्द्रीय संघर्ष समितिले विरोध प्रदर्शनका लागि सबै स्थानीय तहका कर्मचारीलाई काठमाडौँ केन्द्रित गराएको छ । जस अनुसार बेलडाँडीबाट समेत ५ जना कर्मचारी काठमाडौं आन्दोलनमा होमिएका छन् ।
मन्त्रिपरिषद्ले पारित गरेर प्रतिनिधि सभामा दर्ता गर्ने तयारीमा रहेको संघीय निजामती सेवा विधेयक संशोधन गर्नुपर्ने उनीहरुको माग छ । स्थानीय सेवाबाटै प्रमुख प्रशासकीय अधिकृत राख्न, एकीकृत निजामती सेवा ऐन जारी गर्न माग गर्दै कर्मचारीहरु आन्दोलनमा छन् ।
यस्तै बिना सहमति ७५३ स्थानीय तहमा चक्रीय प्रणालीमा सरुवा गरिनुपर्ने, निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारीलाई समेत समेटिनुपर्ने, तीनै तहका कर्मचारीहरूको समान वृत्ति विकासको व्यवस्था गरिनुपर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीहरूको कर्मचारी कल्याणकारी कोषको अनिवार्य व्यवस्था गरिनुपर्ने, स्थानीय तहका कर्मचारीलाई ट्रेड युनियन अधिकार प्रदान गरिनुपर्ने, अस्थायी तथा करार कर्मचारीहरूको उचित व्यवस्था गरिनुपर्ने लगाएतका माग उनीहरुको रहेको छ ।
Discussion about this post