काठमाडौं:
इजरायलबाट फर्किन थप २०० जना नेपालीले निवेदन दिएका छन् ।
तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै थप २०० नेपालीले निवेदन दिएको जानकारी दिएको छ ।
इजरायल प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो ।
अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको दूतावासले जानकारी दिएको छ । निवेदन दिएका बाँकी सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु गरिएको दूतावासको बताएको छ ।
शुक्रबार बिहानमात्रै पहिलो चरणमा १५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाली ल्याइएको छ ।
इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन भएका छन् ।
घाइतेमध्ये एक जना नेपाल फर्किसकेका छन् । अरु तीन जनाको इजरायलमै उपचार भैरहेको छ । उनीहरूमध्य पनि थप एक जना डिस्चार्जको क्रममा रहेको र बाँकी दुई जनाको उपचार जारी रहेको दूतावासले जनाएको छ ।
सम्पर्कविहीन भएका विद्यार्थी विपिन जोशीको पनि खोजी कार्य तीव्र पारिएको र मृतकको शव नेपाल पठाउन पहल भइरहेको दूतावासले जानकारी गराएको छ ।
विपिनलाई हमासले बन्धक बनाएको उनका साथीहरूले बताएका छन् ।
Discussion about this post