कञ्चनपुर । पश्चिम एशियामा जारी द्वन्द्वको प्रभाव नेपालमा समेत देखिन थालेको छ । विशेष गरी सडक कालोपत्रका लागि अत्यावश्यक पेट्रोलियम पदार्थ बिटुमिन (अलकत्रा) आयातमा अवरोध आउँदा देशभरका सडक निर्माण कार्य प्रभावित बन्न थालेका छन्।
सडक विभागका अनुसार बिटुमिनको आपूर्ति घट्नुका साथै मूल्यमा भएको वृद्धिले निर्माण कार्यमा प्रत्यक्ष असर पारेको छ । विभागका उपमहानिर्देशक तथा प्रवक्ता श्यामबहादुर खड्काले मुख्य निर्माण सिजनमै बिटुमिन अभाव हुँदा आयोजनाहरू अलपत्र पर्ने जोखिम बढेको बताए ।
उनका अनुसार अधिकांश निर्माण व्यवसायीहरूसँग सीमित मात्रामा बिटुमिन मौज्दात छ । बजारमा यसको मूल्य उच्च रहनु र सहज रूपमा उपलब्ध नहुनुका कारण निर्माण कार्य अघि बढाउन कठिनाइ भइरहेको छ ।
नागढुंगा,मुग्लिन, मुग्लिन-पोखरा तथा हुलाकी राजमार्ग लगायत सानाठुला आयोजना जस्ता राष्ट्रिय गौरवका आयोजना समेत बिटुमिन अभावका कारण प्रभावित भएका छन्। हाल हप्तामा एक-दुई पटक मात्र बिटुमिन उपलब्ध हुने अवस्थाले समयमै काम सम्पन्न गर्न चुनौती थपिएको छ।
सडक विभागले समस्याको थप अध्ययन तथा समाधानका उपाय खोज्ने काम गरिरहेको जनाएको छ। सामान्यतया हिउँदमा तीव्र गतिमा अघि बढ्नुपर्ने सडक निर्माण कार्य आवश्यक सामग्रीकै अभावमा पछाडि धकेलिएको देखिन्छ।
पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुँदा मर्मत, स्तरोन्नति र कालोपत्रका काममा सुस्तता आएको छ। निर्माण व्यवसायीहरूले मूल्यवृद्धिका कारण काम गर्न कठिनाइ भएको गुनासो गरिरहेका छन्।



















Discussion about this post