काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सोमबार राति सार्वजनिक गरेको छ । यस वर्षको नतिजामा अघिल्लो वर्षको तुलनामा सुधार देखिएको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नियमिततर्फ सहभागी परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ अर्थात् उत्तीर्ण भएका छन् । यस वर्ष देशभरबाट चार लाख ३० हजार ६६७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये दुई लाख ८४ हजार १६० जनाले विभिन्न ग्रेड प्राप्त गरेका छन् भने एक लाख ४६ हजार ५०७ जना ‘नन-ग्रेडेड’ (एनजी) मा परेका छन् ।
गत वर्ष २०८१ को एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यस वर्ष उक्त प्रतिशत बढेर ६५.९८ पुगेको हो । अघिल्लो वर्षको तुलनामा ४.१७ प्रतिशत बिन्दुले नतिजामा सुधार आएको देखिएको छ ।
त्यसअघि २०८० सालको एसईईमा ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए भने ५२.१४ प्रतिशत विद्यार्थी एनजीमा परेका थिए । लगातार दोस्रो वर्ष पनि नतिजामा सुधार देखिएपछि शैक्षिक क्षेत्रमा सकारात्मक संकेत देखिएको विश्लेषण गरिएको छ ।
सार्वजनिक नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३९२ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ८० हजार ३७२, २.८ देखि ३.२ जीपीए ल्याउने ९४ हजार २२२ र २.४ देखि २.८ जीपीए ल्याउने ५५ हजार ९७७ विद्यार्थी रहेका छन् ।
यस्तै २ देखि २.४ जीपीए ल्याउने पाँच हजार १९० विद्यार्थी रहेका छन् भने १ देखि २ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या सात रहेको बोर्डले जनाएको छ ।


















Discussion about this post